Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

हर्मुज जलडमरूमा युद्धको नयाँ अध्यायः अमेरिकाको नाकाबन्दी, तेल १०० डलर नाघ्यो

हर्मुज जलडमरूमा युद्धको नयाँ अध्यायः अमेरिकाको नाकाबन्दी, तेल १०० डलर नाघ्यो

एजेन्सी

३०, चैत्र २०८२
हर्मुज जलडमरूमा युद्धको नयाँ अध्यायः अमेरिकाको नाकाबन्दी, तेल १०० डलर नाघ्यो

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सोमबार बिहानदेखि इरानी बन्दरगाह र तटीय क्षेत्रमा पूर्ण नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनअनुसार यो नाकाबन्दी सबै देशका जहाजहरूमाथि निष्पक्ष रूपमा लागू हुनेछ ।

images

राष्ट्रपति ट्रम्पले आइतबार ट्रुथ सोसलमा “अमेरिकाले चाँडै नै हर्मुज जलडमरूमार्फत गुज्रने जहाजहरूलाई रोक्न सुरु गर्नुपर्छ” भन्दै लेखेका थिए । यो कदमले विश्व ऊर्जा आपूर्तिमा तत्काल प्रभाव पार्ने देखिएको छ । अमेरिकाको यस कार्यले इरानसँगै चीन पनि प्रत्यक्ष प्रभावित हुने स्पष्ट संकेत छ । अर्कोतर्फ वार्ता पूर्ण रूपमा असफल भएसँगै एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य आकाशिएको छ ।

अन्तर्राष्ट्रिय ब्रेन्ट क्रुड ८.५ प्रतिशतले बढेर १०२.३७ डलर प्रतिब्यारेल पुगेको छ भने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूटीआई) ९ प्रतिशतले उकालो लागेर १०५.३४ डलर कायम भएको छ ।
 

यो संकट गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वको प्रत्यक्ष परिणाम हो । विश्वको कुल ऊर्जा ढुवानीको पाँचौं हिस्सा ओगट्ने हर्मुज जलडमरूमा ढुवानी ठप्प प्रायः छ । भारत र मलेसियाजस्ता मुलुकले सुरक्षित मार्गको प्रयास गरे पनि वैश्विक इन्धन आपूर्ति गम्भीर रूपमा प्रभावित भइरहेको छ । तेल मूल्य वृद्धिले एसियाली सेयर बजारमा समेत गिरावट निम्त्याएको छ ।

ट्रम्पले पाकिस्तानको इस्लामाबादमा भएको २१ घण्टे वार्ताप्रति चिन्ता नरहेको स्पष्ट गर्दै ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अमेरिका अग्रस्थानमा रहेको र इरानको नौसैनिक क्षमता पूर्ण रूपमा ध्वस्त भइसकेको पनि जनाएका छन् । उनको दाबीअनुसार इरानका १५८ लडाकू विमान र २८ वटा माइन बिछ्याउने जहाजहरू पानीमुनि डुबिसकेका छन् । बाँकी रहेका माइनहरू हटाउन अमेरिकी माइन स्वीपरहरू परिचालन भइसकेका छन् ।
उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा शनिबारदेखि आइतबार बिहानसम्म चलेको वार्ता कुनै सहमतिमा पुग्न सकेन । इरानले आफ्नो परमाणु कार्यक्रम त्याग्न अस्वीकार गरेको ट्रम्पले आरोप लगाएका छन् ।

त्यसैगरी वार्ता विफल भएपछि ओमानले तत्काल हस्तक्षेप गरेको छ । विदेशमन्त्री बदर अल–बुसैदीले सामाजिक सञ्जालमा “सफलताका लागि कठिन सम्झौता गर्नुपर्ने हुन सक्छ, तर यो हार र युद्धको पीडाको तुलनामा केही पनि होइन” भन्दै लेखेका छन् । ओमानले युद्धविरामको अवधि बढाउन र वार्तालाई निरन्तरता दिन दुवै पक्षलाई आह्वान गरेको छ । यसअघि पनि ओमानले इरान–अमेरिका अप्रत्यक्ष वार्ताको मध्यस्थता गरेको थियो ।

अर्कोतर्फ अमेरिकी खुफिया एजेन्सीहरूले चीनले इरानलाई विमान खसाल्ने रकेट र एयर डिफेन्स प्रणाली पठाउने तयारी गरेको सूचना प्राप्त गरेको छ । फक्स न्यूजको ‘सन्डे मर्निङ फ्युचर्स’ मा ट्रम्पले “यदि चीनले त्यसो गर्न लागेको हो भने यो उसका लागि ठूलो समस्याको विषय हुने र अमेरिका भित्रिने चिनियाँ सामानमा ५० प्रतिशत थप भन्सार महसुल लगाइने” भनेका छन् ।

हालसम्म दुई साताको युद्धविराम अझै कायम छ, तर वार्ता असफल भएपछि यसको भविष्य अनिश्चित बनेको छ । सेन्टकमको नाकाबन्दीले इरानको अर्थतन्त्रलाई थप चाप दिनेछ भने विश्वव्यापी ऊर्जा संकट गहिरिने निश्चित छ । ट्रम्प प्रशासनले “नेभिगेसन स्वतन्त्रता” लाई मुख्य आधार बनाएर अगाडि बढिरहेको छ, तर इरानले कुनै पनि सैन्य उपस्थितिलाई चुनौती दिन सक्ने संकेत दिइसकेको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - ०८:०९:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology