Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आठ महिनामा इच्छाकामना गाउँपालिकाको खर्च ३३ प्रतिशत

आठ महिनामा इच्छाकामना गाउँपालिकाको खर्च ३३ प्रतिशत

इच्छाकामना न्युज

३०, चैत्र २०८२
आठ महिनामा इच्छाकामना गाउँपालिकाको खर्च ३३ प्रतिशत

कुरिनटार । इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनामा जम्मा ३३ दशमलब १४ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्षको चार महिनामात्रै बाँकी रहँदा आधा बजेट पनि खर्च नहुँदा गाउँपालिकाको कार्यसञ्चालनमा प्रश्न उठ्न थालेको छ । विगतका वर्षहरुका तुलनामा यो प्रतिशत कम हो । पुँजीगततर्फ जम्मा १५ दशमलब ४६ प्रतिशत खर्च भएको छ । चालूतर्फ ४६ दशमलब ३ प्रतिशत रकम खर्च भएको देखिन्छ ।

images

भौतिक तथा वित्तीय प्रगति हेर्दा चालूतर्फ ४३ करोड ५२ लाख २१ हजार रूपैयाँ बजेट विनियोजन हुँदा २० करोड १७ लाख १५ हजार रूपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ३२ करोड ५० लाख ८० हजार रूपैयाँ रकम विनियोजन हुँदा पाँच करोड दुई लाख रूपैयाँमात्रै खर्च भएको छ ।

तर, आर्थिक वर्ष सकिँदासम्ममा विगतकै लक्ष्यअनुसार खर्च प्रतिशत बढ्न सक्ने गाउँपालिकाको प्रक्षेपण थियो । यसवर्ष भदौ २३ र २४ को आन्दोलन र त्यसपछि गठित सरकार चुनावकेन्द्रित हुँदा लक्ष्यअनुसारको खर्च गर्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत बताउँछन् ।

‘विगतका वर्षहरुमा हामीले करिब ८७ प्रतिशतसम्म खर्च गरेका छौँ । तर, चालू आर्थिक वर्षमा आन्दोलन र त्यसपछिको निर्वाचनका कारण कतिपय बजेट चलाउनै पाएनौँ’, उनी भन्छन्, ‘अबको चार महिनाभित्र काम सम्पन्न हुने र त्यसको भुक्तानी निकासाको क्रम पनि बढ्छ ।’

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड तीन लाख एक हजार रूपैयाँ बजेट विनियोजन गरेकोमा गत फागुन मसान्तसम्मको विवरणअनुसार जम्मा ४७ करोड ३१ हजार रूपैयाँमात्रै खर्च भएको देखिएको छ ।

गत तीन आर्थिक वर्षको अवस्था हेर्ने हो भने इच्छाकामना गाउँपालिकाले सबैभन्दा धेरै २०८०/०८१ मा खर्च गरेको थियो । उक्त वर्ष ६७ करोड चार लाख १९ हजार रकम विनियोजन हुँदा ५८ करोड २९ लाख ४४ हजार अर्थात् ८६ दशमलब ९५ प्रतिशत रकम खर्च गर्न सफल भएको थियो ।

त्यसअघि २०७९/०८० मा पनि ७७ करोड ५९ लाख ९४ हजार रूपैयाँ रकम विनियोजन हुँदा ६१ करोड २८ हजार ९७ लाख रूपैयाँ अर्थात् ७८ दशमलब ९८ प्रतिशत रकम खर्च भएको तथ्याङ्क गाउँपालिकासँग छ । आर्थिक वर्ष २०८१/०८२ मा पनि ७७ करोड ९८ लाख आठ हजार रूपैयाँ रकम विनियोजन हुँदा ६६ करोड ७३ लाख २९ हजार अर्थात् ८५ दशमलब ६ प्रतिशत रकम खर्च भएको थियो ।

विगतको आँकडा हेर्दा यसवर्ष कम खर्च हुने अनुमान गर्न सकिन्छ । तर, गाउँपालिकाले भने भुक्तानी हुने समय बल्ल आएको हुँदा खर्च प्रतिशत बढ्ने दाबी गरेको छ । ‘आन्दोलन र निर्वाचनले कार्यप्रगति केही प्रभावित भए पनि त्यसबाहेकका समयमा काम रोकिएका छैनन्, त्यसकारण खर्च प्रतिशत आर्थिक वर्षको मसान्तसम्म नजिक पुग्ने अनुमान छ’, उनी भन्छन् । पालिकाले दोस्रो चौमासिकमा एक करोड ७९ लाख ४९ हजार आन्तरिक आय गर्न सफल भएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - ०८:१८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology