काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे वैशाख ११ मा पक्राउ परे । २०७९ मा शहरी विकाश मन्त्री भएका पाण्डे कालिका कन्स्ट्रक्सन प्रालिको सञ्चालक हुन् । निर्माण क्षेत्रमा ‘क’ वर्गको कम्पनीका सञ्चालक पाण्डेमाथि बोलपत्र प्रणाली नै ह्याक गरेर अर्बौँको ठेक्का कब्जा गरेको आरोप छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्रडटकमडटएनपी नामको वेबसाइटमा अनधिकृत पहुँच बनाएर कालिकाका कन्स्ट्रक्सन ठेक्काको विवरण हेरफेर गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे विक्रमका छोरा हुन् । हालै अध्यक्षमा निर्वाचित निकोलस कालिका कन्स्ट्रक्सनको कार्यकारी निर्देशक हुन् । बोलपत्र प्रणाली ह्याक गरेर ठेक्का कब्जा गरेको कसुरमा निकोलसको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्का पनि अनुसन्धानको दायरामा छन् । खड्का सञ्चालक रहेको सगुन कन्स्ट्रक्सन तथा भिमेश्वर ड्रिलिङ निर्माण सेवाले केयुकेएलको ठेक्कामा ‘मिलेमतो’ गरेको आशङ्का छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पाइप बिछ्याउने ठेक्का चिनियाँ कम्पनीसँगको साझेदारीमा सगुन कन्स्ट्रक्सनले दुई वटा प्याकेज लिँदै थियो । तर, सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रारम्भिक छानबिनको आधारमा सीआईबीले अनुसन्धान थालेपछि केयुकेएलले केही ठेक्का रद्द गरेको छ ।
विवरण हेरफेर गरेर ठेक्का कब्जा गर्नेमा भीषण कन्स्ट्रक्सनको पनि संलग्न देखिएको छ । वैशाख ११ मा सीआईबीले भीषण कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक टंक कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठ धादिङको नीलकण्ठ नगरपालिका–३ का स्थानीय हुन्।
बन्दना भगवती निर्माण सेवाले लिएको ठेक्काबारे पनि ब्यूरोले अनुसन्धान गरिरहेको छ । बन्दना भगवतीका सञ्चालक मुकेश पन्त हुन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका पन्तको कम्पनीले लिएको ठेक्काबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए।
चपुर निर्माण सेवा प्रा.लिले पनि ह्याक गरेर ठेक्का कब्जा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । चपुरका सञ्चालक अमृत बोहरालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–४ बानियााटार बस्ने । ३२ वर्षीय बोहरा वैशाख ११ मा पक्राउ परेका हुन्।
बोलपत्र प्रणाली ह्याक गरेर ठेक्काहरूका विवरण हेरफेर गरेको कसुरमा सीआईबी र साइबर ब्यूरोको टिमले अनुसन्धान गरिरहेको छ । आरोपीहरूमाथि सङ्गठित अपराध र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए । उनले भने, ‘ह्याक गरेर ठेक्काको विवरण फेरबदल गरिएको वा कर्मचारीको मिलेमतोमा भएको हो भन्नेबारे हेर्दै छौँ ।’
१२ जना पक्राउ
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को बोलपत्र प्रणालीमा अनधिकृत पहुँच राखेर ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका दिवाकर देउजा, बझाङका धरत धामी, तनहुँका सञ्जय भट्ट, काठमाडौँ–३३ घर भएका भाष्कर राज अर्याल, हेटौँडा घर भएका सागर कटुवाल र सुनसरीका जीवन कुमार दास पहिलो चरणमा पक्राउ परेका थिए।
त्यसपछि पूर्वमन्त्री विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सनका सञ्चालक टंक कुमार श्रेष्ठ पक्राउ परे । सीआईबीले चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा, ईन्कोन प्रा.लिका सेयर धनी स्वेदश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रा.लिका सञ्चालक प्रकाश ढुङ्गानालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ऋषिकेश गौली प्रहरीको निगरानीमा अस्पतालमा छन्।