मनकामना, २९ फागुन । गोरखाको मनकामनामा होटलमा खुकुरी देखाएर तर्साउने, पाहुनालाई दुब्र्यवाहार गर्नेलाई प्रहरीले बिना कारवाही छाडेपछि ब्यवशायी त्रासमा छन् । शहिदलखन गाउँपालिका ३ मनकामनामा संचालित मनकामना फुलवारी रिसोर्टमा फागुन २७ गते होटलका कर्मचारीबिच एक आपसमा बिवाद भयो ।
बिवादका क्रममा होटलमा कार्यरत दिप्सन कार्कीले खुकुरी झिकेर अन्य कामदारलाई धम्क्याएका होटल संचालक प्रनिस श्रेष्ठल बताए । राजकुमार कार्की र जिवन अधिकारी सहित तीन जनाले कुकलाई कुटपिट गरेको, होटलका म्यानेजरलाई खुकुरी देखाउँदै धम्क्याएको संचालक श्रेष्ठ बताउँछन् । ‘खुकुरी झिकेर प्रहार गर्न खोजेपछि म त भाँगेको थिएँ’ संचालक श्रेष्ठले भने ।
होटलमा बसेका पाहुनालाई समेत ति कामदारले दुब्र्यवाहार गरेको अर्का संचालक डानियल न्यौपाने बताउँछन् । जुन दृष्य सिसिक्यामेरामा प्रष्ट देखिन्छ । ‘केही सामग्री समेत तोडफोड भएको छ’ उनले भने ‘राती नै प्रहरीलाई खबर गर्दा ढिला आउनुभयो ।’
प्रहरी चौकी र होटल पाँच मिनेटको दुरीमा छ । तर एक घण्टापछि प्रहरी पुगेको संचालक बताउँछन् । प्रहरी पुगेर झगडा गर्ने तीन जनालाई त्यहाँबाट अन्यत्र लगेको थियो । खुकुरी प्रहरीले बरामद गरेको होटल संचालक बताउँछन् । तर प्रहरीले भने होटलकै गार्डको खुकुरी भएको दावी गरेको छ । होटल संचालकले भने होटलमा गार्ड नै नरहेको बताउँछन् ।
मनकामना चौकीका इन्चार्ज सई राजु पौडेलले भने खुकुरी देखाएको बारे केही जानकारी नभएको बताएका छन् । तर होटलको सिसिक्यामेरामा खुकुरी झिकेको, झगडा गर्नेहरुलाई प्रहरीले राती नै लगेको प्रष्ट देखिन्छ । होटल संचालकले फागुन २८ गते मनकामनामा उजुरी समेत दिएको बताएका छन् । ‘बिहान १० बजे छलफल गर्ने भनेको ति भाईहरु साँढे नौ बजे नै गएछन्’ मनकामनाका सई पौडेलले भने । एउटै होटलका मजदुरको झगडा भएको भन्दै उनले उक्त घटना समान्य बिवाद भएको बताए ।
घटनामा संलग्न बिच छलफल नगराई उनले झगडा गर्ने युवालाई त्यहाँबाट पठाईदिएको गुनासो संचालकहरुको छ । ‘हामीलाई सुरक्षा थ्रेट महशुस भएको छ’ संचालक मध्येका एक न्यौपानेले भने । संचालकहरुले भने नेपालकै प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा होटलमा बसेका पाहुनालाई दुब्र्यवाहार गर्ने, कुकुलाई हातापात र खुकुरी देखाएर तर्साउने जो कोही भएपनि कारवाही हुनुपर्ने माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले घटनाको अनुसन्धान गरेर संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । ‘संचालक संँग भएको सिसिटिभी फुजेट मैले हेरेको छैन’ उनले भने ‘घटनाको अध्ययन गरेर जो कोही भएपनि कानुनी दायरामा ल्याउँछौँ ।’