चितवन।भरतपुर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीका सवालमा सहजीकरण गर्ने उद्देश्यले प्रहरीसहित विभिन्न सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामेश्वर पौडेलले वैदेशिक रोजगारीका क्रममा समस्या परेपछि धेरैजसो नागरिक अन्तिम आशाका रूपमा प्रशासन कार्यालय र प्रहरीसमक्ष आउने गरेको बताउनुभयो । वैदेशिक रोजगारीमा जानुअघि प्रहरीले आवश्यक सोधपुछ गर्दा कतिपयले प्रहरीलाई नकारात्मक रूपमा लिने गरे पनि ठगीमा परेपछि सहयोगका लागि प्रहरीकहाँ नै आउने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्तिहरूले प्रमाण सुरक्षित राख्नुपर्नेमा विशेष जोड दिनुभयो ।
भरतपुर महानगरपालिकाको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख तथा वरिष्ठ महिला विकास अधिकृत शुशिला वाग्लेले महानगरपालिकाले सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्दै नीतिगत कार्यक्रम सञ्चालन गरिरहेको जानकारी समेत गराउनुभयो । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा उहाँले पासपोर्ट बनाउने चरणमै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक परामर्श प्रदान गर्नुपर्ने र अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कानुनी प्रक्रिया पूरा गरेर विदेश गए ठगीबाट जोगिन सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्यबारे सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक सूर्य पौडेलले प्रकाश पार्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण गैर सरकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख पंचमायाँ तामाङले गर्नुभएको थियो ।