इच्छाकामना । असार–साउनको बेला ढुङ्गा–माटोलाई पनि मान्छे बनाउन पाए हुन्थ्यो भन्छन्, किसानहरु । घुर्केशका कुमार गुरूङलाई पनि यतिखेर त्यस्तै भएको छ । गाउँमा खेतीपातीसँगै पशुपालन भएको हुँदा घाँसपातको व्यवस्था पनि उनको नियमित क्रियाकलाप हो ।
गत वर्षबाट घुर्केशमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा छ । त्यसयता उनको दैनिकीमा अर्को काम पनि थपिएको छ । सार्वजनिक बिदाको दिनमा उनलाई समय व्यवस्थापन गर्नै कठिन पर्छ । गर्मी मौसममा समतल क्षेत्रमा चरम गर्मी हुँदा पहाडी भूगोलमा गज्जबको शीतल हुने भएकाले गत वर्ष इच्छाकामना गाउँपालिकाले वडा नं–२ को घुर्केशमा सामुदायिक होमस्टे सञ्चालन गर्न प्रोत्साहन गरेको थियो ।
२२ घर रहेको गुरूङ गाउँ घुर्केशमा १४ घरमा होमस्टे सञ्चालनमा छ । त्यसयता गर्मी महिना लागेपछि उपरदाङगढी, मायाटारजस्ता पर्यटकीय गन्तव्य घुम्न आइपुग्ने पाहुनाका लागि बासस्थानको मुख्य गन्तव्य बन्न थालेपछि गाउँलेलाई व्यस्तता बढेसँगै आम्दानीको स्रोतसमेत बढेको छ ।
कुमार गुरूङ सामुदायिक होमस्टेका अध्यक्षसमेत हुन् । गाउँमा आउने पाहुनालाई उनकै नेतृत्वमा खाने, बस्ने र स्वागतसत्कार गर्ने काम हुँदै आएको छ । गाउँमै उत्पादन भएको उपज खुवाएर पाहुनालाई खुसी बनाउने प्रयास गर्दै आएको उनी बताउँछन् । ‘गाउँमा उत्पादन हुने सबै खानाका परिकार यहीँ उत्पादन गर्छौं’, उनी भन्छन्, ‘यहाँ नहुने वस्तुहरु मात्रै बजारकेन्द्रित हुनुपर्छ ।’
उनका अनुसार नुन, तेल, मसलाबाहेकका खाद्यवस्तु गाउँमै उत्पादन हुँदै आएको छ । होमस्टे सञ्चालनमा आएपछि गाउँमै फलेको खुर्सानी, गोलभेडा, काँक्रोलगायतका उत्पादनले पनि बजार पाएको छ । ‘गाउँमा आउने पाहुनाले यहाँ फलेका फसल लैजान खोज्नुहुन्छ’, उनी भन्छन्, ‘हरियो तरकारी, सागपात, महजस्ता खाद्यवस्तुको उत्पादन गर्न सके बजार खोज्नु परेको छैन, बजार नै गाउँमै आएको छ ।’
तर, यतिबेलाको मौसम खेतीपातीमा बढी व्यस्त हुनु परेकोले पाहुनाको व्यवस्थापनमा थप चुनौती थपिएको उनले बताए । ‘पाहुना आएपछि सबै काम छाडेरै भए पनि व्यवस्थापन गर्छौं’, उनले भने, ‘किनकि पाहुनाले हामीलाई खोज्दै आएपछि हामीले पनि सक्दो सम्मान दिनुपर्छ ।’ अहिले गाउँमा पाखे धान रोप्ने, कोदो रोप्ने, जङ्गलआसपासका बारीमा बाँदर धपाउनेजस्ता काम प्रमुख बनेका छन् । अन्न उत्पादनबाहेकको समयमा भने गाउँले प्रायः फुर्सदमा हुने हुँदा धेरै सहज हुने गरेको उनको भनाइ छ ।
होमस्टेले गाउँको आर्थिक विकासमा समेत टेवा पुगेको छ । जाडो महिनाको तुलनामा गर्मी महिनामा बढी पाहुना आउने गर्छन् । कोदाको रोटी, साग, सिस्नो, ढिँडो, कुखुराको मासु, स्थानीय मदिरा यहाँको मुख्य खानपान हो । पाहुनाको मागअनुसारको खाद्यवस्तु तयार गरेर खुवाउने प्रयास गर्दै आएको स्थानीय सानुमाया गुरूङ बताउँछिन् ।
तर, गाउँमा एउटा समाज घरको टड्कारो आवश्यकता परेको उनी बताउँछिन् । ‘पाहुना त आउनुहुन्छ तर हामीले समूहमा राखेर नाचगान र रमाइलो गराउन समाज घर छैन’, उनी भन्छिन्, ‘अहिलेसम्म घरको आँगनलाई नै प्रयोग गर्दै आएका छौँ, तर समाजमा जस्तो नहुने रहेछ ।’ फुर्सदको समयमा आम्दानीको स्रोत बढाउने र घरखर्चसँगै बालबालिकाको पढाइ खर्च जुटाउन होमस्टेले थप सहज भएको उनको भनाइ छ ।
चितवनको पहाडी गाउँमा झुरूप्प परेको गुरूङ गाउँले निकै मन लोभ्याएको पाहुना बन्न गएका भरतपुरका सागर कुमालले बताए । चितवनको बजारी क्षेत्रमा गर्मीले खलखली हुँदा पनि सिरक ओढेर सुत्नुपर्ने ठाउँले मनै लोभ्याएको उनले बताए । भरतपुरबाटै घुम्न आएका गोरखाका सुमित गुरूङले पनि चितवन भन्नासाथ धेरैले गर्मी ठाउँ भनेर चिन्ने गरेकोमा घुर्केशजस्तो शीतल ठाउँ भेट्टाउँदा भूगोल नै अर्कै हो कि भन्नेजस्तो महसुस गराएको बताए ।
मौलिक खानपान र ग्रामीण बसोवासले वास्तविक होमस्टेको उदाहरण दिएको उनले बताए । ‘होमस्टे त धेरै ठाउँमा गएँ तर अधिकांश ठाउँमा बजारिया संस्कारले ढाकिसकेको पाएँ । घुर्केशमा भने गाउँमै गएर ग्रामीण परिवेशमा बसेको महसुस भयो’, उनले भने, ‘घुर्केशवासीले यो मौलिकतालाई मर्न दिनुहुँदैन ।’ पछिल्लो समय दुई–चार जनाको समूहमात्रै नभई विभिन्न संघसंस्थाले कार्यक्रम नै लिएर घुर्केश आउने गरेका छन् ।