Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गलैँचा बुन्ने श्रमिकदेखि महासङ्घको सर्वोच्च नेतृत्वसम्म: शोभा गुरुङको प्रेरणादायी यात्रा

गलैँचा बुन्ने श्रमिकदेखि महासङ्घको सर्वोच्च नेतृत्वसम्म: शोभा गुरुङको प्रेरणादायी यात्रा

इच्छाकामना न्युज

२३, आषाढ २०८३
गलैँचा बुन्ने श्रमिकदेखि महासङ्घको सर्वोच्च नेतृत्वसम्म: शोभा गुरुङको प्रेरणादायी यात्रा

काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई)को २६औँ राष्ट्रिय महाधिवेशनबाट व्यवसायी शोभा गुरुङ निर्विरोध रूपमा केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी छन्।

images

२०५२ सालमा विवाहपछि उनले आफ्नै गलैँचा उद्योग स्थापना गर्दै उत्पादनलाई युरोप, अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न थालेकी हुन्।

टोखा नगरपालिकामा रहेको उनको उद्योगमा हाल करिब २०० जना श्रमिक कार्यरत छन्। उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी छन्। विशेषगरी लायन्स इन्टरनेसनलजस्ता सामाजिक संस्थाहरूमा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी गुरुङ उद्यमशीलता प्रवर्द्धन र सामाजिक सेवामा समान रूपमा सक्रिय रहँदै आएकी छन्।

स्नातक तह उत्तीर्ण गरेकी गुरुङको विवाह व्यवसायी रामबहादुर गुरुङसँग भएको हो। उनी २०६४ सालमा महासङ्घको महिला उद्यम समितिमार्फत संस्थागत नेतृत्वमा प्रवेश गरेकी थिइन्। २०७१ सालमा महिला उद्यम समितिको केन्द्रीय अध्यक्ष बनेपछि उनले महासङ्घमा लगातार दुई कार्यकाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्।

सोही अनुभवका आधारमा उनी अहिले महासङ्घको केन्द्रीय अध्यक्षको नेतृत्वमा पुगेकी हुन्। निर्वाचनपछि प्रदेश खबरसँग कुरा गर्दै गुरुङले साना तथा घरेलु उद्योगीको मुख्य चुनौती पुँजीको अभाव, सरल कर्जामा पहुँच, सूचना प्रविधिको प्रयोग तथा नीतिगत सहजीकरण रहेको बताइन्।

उनका अनुसार देशभर करिब ७ लाखभन्दा बढी घरेलु तथा साना उद्योगी आबद्ध रहेकाले उनीहरूको हितलाई केन्द्रमा राखेर नयाँ कार्यसमितिले सरकारसँग निरन्तर पैरवी गर्नेछ।

उनले भनिन्, ‘उद्यमीलाई त्रसित बनाउने होइन, सहज वातावरण सिर्जना गर्नुपर्छ। आफ्ना सम्पूर्ण सम्पत्ति धितो राखेर उद्योग सञ्चालन गरिरहेका व्यवसायीलाई धम्की दिने होइन, उनीहरूको जायज माग सम्बोधन गर्न सरकार तयार हुनुपर्छ।’

महासङ्घमा अब ९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने जानकारी दिँदै उनले प्रत्येक प्रदेशबाट महिला र पुरुष गरी तीन–तीन जनाको प्रतिनिधित्व सुनिश्चित गरिने बताइन्।

महिला उद्यम समितिको अध्यक्ष रहँदा देशभर पुगेर उद्यमीका समस्या सङ्कलन गरेको अनुभव सुनाउँदै गुरुङले २०७२ सालको भूकम्पका बेला टेन्टमै बसेर पनि महिला उद्यमीका आवाज सरकार र सरोकारवालासम्म पुर्‍याउन आफू सक्रिय रहेको स्मरण गरिन्।

उनका अनुसार त्यही समर्पण, निरन्तर सक्रियता र संस्थाप्रतिको प्रतिबद्धताकै परिणामस्वरूप आफूले महासङ्घको नेतृत्व गर्ने अवसर प्राप्त गरेकी हुन्।

नवनिर्वाचित अध्यक्ष गुरुङले नेपाली गलैँचा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउने, निर्यातमा रहेका जटिलता हटाउने तथा सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग समन्वय गरेर उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रत्येक पालिकासम्म महासङ्घको सञ्जाल विस्तार भइसकेको उल्लेख गर्दै उनले अब स्थानीय तहसम्म उद्यम विकास, व्यवसायमैत्री वातावरण निर्माण,महिला तथा युवा उद्यमशीलताको प्रवर्द्धन, सीप विकास, बजारीकरण तथा उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि प्रभावकारी रूपमा काम गर्ने बताइन्।

images
प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १६:४६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology