रौतहट। मिटरब्याज र ठगीविरुद्ध आन्दोलनरत किसान–मजदुर तथा पीडित र गृहमन्त्री सुधन गुरुङबीच आज तेस्रो चरणको वार्ता हुँदैछ।
बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने वार्तालाई दुवै पक्षले निर्णायक रूपमा लिएका छन्। यसअघि मंगलबार र बुधबार करिब पाँच–पाँच घण्टा चलेका दुई चरणका वार्ता निष्कर्षविहीन बनेका थिए।
पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित तिरहुतिया गाछीबाट काठमाडौंसम्म ‘न्याय यात्रा’ नाम दिँदै पैदल मार्च सुरु गरेका हुन्। आन्दोलनलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङ स्वयं निजगढ पुगेका छन्।
आन्दोलनकारीले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध विशेष ऐन, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग सरकारसमक्ष राखेका छन्।
दुई दिनको वार्तामा कानुनी र प्राविधिक विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन। पीडित पक्षले ठोस र कार्यान्वयनयोग्य प्रतिबद्धता नआएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएको छ भने सरकारले कानुनसम्मत समाधानका लागि गृहकार्य भइरहेको जनाएको छ।
आजको तेस्रो चरणको वार्ताले मिटरब्याज पीडितहरूको लामो आन्दोलनको दिशा तय गर्ने अपेक्षा गरिएको छ। देशभरका हजारौं पीडितको नजर अहिले निजगढमा हुने यही वार्तामा केन्द्रित छ।