चितवन । सञ्चारिका समूह चितवन तथा इनर ह्विल क्लब अफ भरतपुर सिटीको संयुक्त आयोजनामा ूसामाजिक कार्यमा पत्रकारको भूमिकाू विषयक अन्तरक्रिया तथा मेहेन्दी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूको सामाजिक उत्तरदायित्व, जनचेतना अभिवृद्धि, महिला सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवामा सञ्चारकर्मीको भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा इनर ह्विल क्लब अफ भरतपुर सिटीकी संस्थापक अध्यक्ष शोभा गौतमले सामाजिक सेवामूलक अभियानलाई जनसमुदायसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरणलगायत क्षेत्रमा क्लबले सञ्चालन गरेका अभियानलाई सञ्चारमाध्यमले प्रभावकारी रूपमा समुदायसम्म पुर्याएकै कारण सकारात्मक परिणाम हासिल भएको उल्लेख गर्दै उनले आगामी दिनमा सञ्चारकर्मी र सामाजिक संस्थाबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिइन्।

क्लबकी अध्यक्ष लक्ष्मी खड्काले पत्रकारिता समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम भएको बताइन्। सामाजिक संस्था र सञ्चारकर्मीबीचको सहकार्यले सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

निवर्तमान अध्यक्ष मीना गुरुङले सामाजिक रूपान्तरणका लागि सञ्चारमाध्यम र सामाजिक संस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै सकारात्मक गतिविधिलाई प्राथमिकताका साथ उजागर गर्दा सामाजिक सेवामा थप उत्साह र प्रेरणा मिल्ने धारणा राखिन्।
सञ्चारिका समूह चितवनकी अध्यक्ष गीता गुरुङले पत्रकारको भूमिका समाचार सम्प्रेषणमा मात्र सीमित नभई सत्य सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सकारात्मक सामाजिक परिवर्तनका लागि महत्वपूर्ण रहेको बताइन्। शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण, बालअधिकार, मानवअधिकार, रक्तदान, सरसफाइ तथा विपद् व्यवस्थापनजस्ता सामाजिक अभियानमा पत्रकारको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

उनले समाजमा रहेका विकृति, विसंगति, भ्रष्टाचार, हिंसा र अन्यायलाई उजागर गर्दै सामाजिक न्याय स्थापना गर्न पत्रकारिताले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिन्। साथै, विपद्का समयमा सही सूचना प्रवाह, अफवाह नियन्त्रण तथा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सञ्चारकर्मीको जिम्मेवारी अझ महत्वपूर्ण हुने उनले बताइन्।
गीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारिका समूह चितवनका पदाधिकारी तथा सदस्य, इनर ह्विल क्लब अफ भरतपुर सिटीका पूर्वअध्यक्ष सनुजा श्रेष्ठसहित क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन समूहकी कोषाध्यक्ष अस्मिता पराजुलीले गरेकी थिइन्। अन्तरक्रियापछि सहभागीबीच मेहेन्दी कार्यक्रम पनि आयोजना गरिएको थियो।