चितवन। नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । करिव २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एशियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ । कुल १ सय १३ किलोमिटर लम्बाईको यस सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको थियो ।
सडक विभाग, आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार अनेकौँ चुनौतीका बाबजुद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो । अन्तर–निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रवाह (क्यास फ्लो) व्यवस्थापनमा समस्या देखिएका कारण निर्धारित समयभन्दा केही ढिलाइ भएको निर्देशक ढकालले जानकारी दिनुभयो ।
यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेन र अन्य क्षेत्रलाई ४ लेनमा स्तरोन्नति गरिएको छ । आयोजनामा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानतर्फ अघि बढेकाले अहिले आयोजना सफलतातर्फ उन्मुख भएको निर्देशक ढकालले बताउनु भयो ।