जनकपुर। सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ । श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागेको जानकारी दिएको छ ।
अध्यक्ष दासका अनुसार महोत्सवअन्तर्गत श्री रामचरितमानस नवाह पारायण पाठ, बधाई, कथा, कीर्तन तथा सत्सङ्गलगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न विद्वान् तथा वक्ताहरूबाट धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत हुने अध्यक्ष दासले बताए । भदौ ३ गते बिहान विशेष पूजा, श्री रामानन्दीय वैष्णव संघको पाठ, बधाई तथा प्रसाद वितरण कार्यक्रमका साथै दिउँसो शोभायात्रा गरिनेछ ।
अध्यक्ष दासका अनुसार सन्त तुलसी स्मारक सदन जनकपुरधाम–८ मा आयोजना हुने महोत्सवमा धार्मिक प्रवचन, रामचरितमानस पाठ, कीर्तन, सत्सङ्ग र शोभायात्रालगायतका कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन् । उनले सम्पूर्ण हिन्दू धर्मावलम्बिहरुलाई यस महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् । महात्सवमा नेपालसहित भारतबाट पनि धर्म गुरु, साधुसन्तको आगमन हुने जनाइएको छ ।