Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

दर्शक भेट्न एक्लै देश दौडिरहेका ‘पेन्सन पट्टा’ निर्देशक माओत्से

दर्शक भेट्न एक्लै देश दौडिरहेका ‘पेन्सन पट्टा’ निर्देशक माओत्से

इच्छाकामना न्युज

७, आश्विन २०८३
दर्शक भेट्न एक्लै देश दौडिरहेका ‘पेन्सन पट्टा’ निर्देशक माओत्से
images

काठमाडौं । सिनेमा ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन् । सिनेमाका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल टुरमा छन् ।तनहुँको दमौलीबाट सुरु भएको माओत्सेको यात्रा चितवन, बुटवल हुँदै धरानसम्म पुगेको छ । अब उनी इटहरी, बिर्तामोड, दमक लगायतका शहरमा पुगेर सिनेमा हेर्ने दर्शक र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिने तयारीमा छन् ।

images
images

दमौली, चितवन र बुटवलमा उनले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिसकेका छन् । यी शहरमा ‘पेन्सन पट्टा’ प्रति दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। दोस्रो सातामा पनि विभिन्न हलमा सिनेमाका शो थपिएका छन् । कतिपय दर्शकले सिनेमा पाँच पटकसम्म हेरेको प्रतिक्रिया समेत पाइएको माओत्से बताउँछन् । किशोर–किशोरीदेखि वृद्धवृद्धासम्मका दर्शक सिनेमाप्रति आकर्षित भएको उनको अनुभव छ ।

माओत्सेको देश दौडाहाको अर्को रोचक पक्ष भनेको हललाई कुनै पूर्वजानकारी नदिई उनी एक्कासी हलपुग्नु हो । उनी हलमा पुग्दा व्यवस्थापकदेखि कर्मचारीसम्म अचम्मित हुने गरेका छन् । सामान्यतया कलाकार तथा सिनेकर्मी हल भ्रमणमा आउँदा पूर्वजानकारी हुने भए पनि माओत्से भने कुनै औपचारिक जानकारीबिना सिधैं हलमा पुगेर दर्शकसँग भेटिरहेका छन् ।

यसको कारणबारे माओत्से भन्छन्, ‘म आफूलाई सामान्य मान्छे ठान्छु । त्यसैले दर्शकसँग भेट्न कुनै ठूलो तयारी र औपचारिकता आवश्यक ठानिनँ । हलमा पुग्ने, दर्शक भेट्ने र उनीहरूको प्रतिक्रिया सुन्ने हो । हललाई अगाडि नै जानकारी गराउँदा पनि के फरक पर्छ र ?’ उनी सिनेमा चलाउन कलाकारको ठूलो टोली लिएर देश दौडाहमा निस्कनुपर्छ भन्ने सोचबाट आफू टाढा छन् । ‘पेन्सन पट्टा’ ले दर्शकको साथ पाएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र दर्शककै आग्रहको आधारमा आफू देश दौडाहमा निस्किएको उनको भनाइ छ ।

‘सिनेमा रिलिजअघि कलाकार बोकेर प्रचारमा हिँड्नेभन्दा रिलिजपछि दर्शकले के भनिरहेका छन्, कहाँबाट बोलाइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण लाग्यो । सामाजिक सञ्जालमा दर्शकका प्रतिक्रिया आउन थाले, विभिन्न ठाउँबाट भेट्न आउन आग्रह हुन थाल्यो । त्यसपछि एक्लै हिँड्ने निर्णय गरेँ,’ निर्देशक माओत्सेले भने ।

माओत्सेका अनुसार दर्शकसँग प्रत्यक्ष भेट्दा सामाजिक सञ्जालमा आउने प्रतिक्रियाभन्दा फरक अनुभूति हुन्छ । हलमा बसेर सिनेमा हेरेर बाहिर निस्किएका दर्शकले कथाका पात्र, सम्बन्ध, परिवार र सिनेमाले उठाएको विषयबारे गर्ने प्रत्यक्ष प्रतिक्रिया आफूका लागि महत्त्वपूर्ण रहेको उनी बताउँछन् ।

‘पेन्सन पट्टा’ ले प्रदर्शनको १२ औँ दिनसम्म देशभरबाट दर्शकको राम्रो साथ पाइरहेको छ । दोस्रो सातामा पनि विभिन्न शहरका हलमा शो थपिनु, दर्शक दोहोरिएर सिनेमा हेर्न पुग्नु र किशोरदेखि वृद्ध पुस्तासम्मका दर्शकको सहभागिता देखिनुले सिनेमाप्रतिको दर्शक आकर्षणलाई थप बल दिएको छ । कलाकारको ठूलो टोलीभन्दा निर्देशक आफैँ दर्शकको बीचमा पुगेर सिनेमाको प्रतिक्रिया सुन्ने शैली अहिले ‘पेन्सन पट्टा’ को प्रमोसनल यात्राको फरक दृश्य बनेको छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - १३:५६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology