भरतपुर । लगातारको वर्षापछि चितवनमा बाढीपहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाइएको छ। जिल्ला प्रशासन कार्यालयले नदीकिनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
लगातार वर्षाका कारण आज शुक्रबार चितवनका सबै विद्यालयमा एक दिन पठनपाठन बन्द गरिएको छ। भरतपुर महानगरपालिकासहित माडी, खैरहनी, इच्छाकामना, राप्ती, रत्ननगर र कालिका नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
नारायणी नदीमा पानीको सतह बढेपछि भरतपुर–१ नारायणगढस्थित नदीकिनारमा अस्थायी तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिएको छ।
यसैबीच, पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबार राति सवारी आवागमन रोकिएको थियो। प्रशासनले अत्यावश्यकबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।