माओत्से गुरूङ निर्देशित फिल्म 'पेन्सन पट्टा'ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मको ग्रस कमाइ ७ करोड रूपैयाँ नाघेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको आइतबारसम्मको विवरणअनुसार 'पेन्सन पट्टा'ले ७ करोड १ लाख ४१ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइका लागि फिल्मका २ लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन्।
क्यूएफएक्सले भन्यो- सुपरहिट
फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि 'सुपरहिट' घोषणा गरेको छ। क्यूएफएक्सको आधिकारिक वेबसाइटमा 'पेन्सन पट्टा'लाई 'सुपरहिट'को उपाधि दिइएको हो।
क्यूएफएक्सले आफ्ना सिनेमा घरमा पहिलो साता १ करोड ५० लाख रूपैयाँ र दुई सातामा २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई ‘सुपरहिट’ घोषणा गर्ने गरेको छ। यस आधारमा ‘पेन्सन पट्टा’ले दुई साता पूरा नहुँदै क्यूएफएक्सका हलबाट मात्रै २ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइ गरेको देखिन्छ।
फिल्म अहिले भने तेस्रो सातामा प्रदर्शनरत छ। 'पेन्सन पट्टा' सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म हो।गरिबी ऋणको बोझ र आमाछोराको संघर्षलाई यसको कथाको केन्द्रमा राखिएको छ। फिल्मले पेन्सन पट्टाको खोजीमा निस्किएको राजनको यात्रामार्फत मानवीयता र सोचमा आउने परिवर्तनलाई प्रस्तुत गर्छ। फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ,बुद्धि तामाङ,विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ।