चितवन। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने क्रुज सिपलाई क्रेनको सहयताले निकाल्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाँकाअनुसार ७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताउनु भयो । अबको केही घण्टामा क्रुज निकाल्न सकिने उहाँको भनाइ छ । उहाँले क्रुजसम्म पुग्नको लागि ट्र्याक खोलिसकेको जानकारी दिनुभयो । झन्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।
उहाँले भन्नुभयो, ‘यही असोज ९, १० र ११ गतेसम्म परेको अविरण वर्षाको कारण गण्डकी बेसिनमा पानीको वहाव बढी भयो । नारायणी नदी खतराको तहभन्दा निकै माथि पुगेको थियो । त्यहीबीचमा त्यहाँ सञ्चालन भइराखेको क्रुज बगाएको हो । क्रुज बगाइसकेपछि त्यसले पनि असर पार्यो । पुलको दायाँ किनारातर्फ रहेको अन्तिम पेयर र एबटमेन्टको बीचमा गएर त्यो अड्किएको छ । यस्तो हुन्छ भनेर हामीले सोचेका थिएनौँ । त्यहा क्रुजलाई अलि सुरक्षित हिसाबले राख्नुपथ्र्यो । तर त्यसो गरिएन । हामीले हिजो बेलुकादेखि नै तीन ठाउँबाट क्रेनहरु मगायौँ । दुई वटा बुटवल–नारायणघाट सडकमा भएको कन्ट्र्याक्टरको क्रेन र एउटा चाहिँ त्रिशूलीमा रहेको हाइड्रोपावरको क्रेन जुन ८० टन क्यापासिटीको छ ।
त्यो मगाएर हिजो बेलुकादेखि नै हामीले काम गरिरहेका छौँ । हामीले त्यो ठाउँसम्म पुग्नको लागि ट्रयाक खोलिसक्यौँ । सडक विभागले नै त्यो ट्रयाक खोल्ने काम गरिरहेको छ । हामी जिल्ला प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले त्यसलाई हटाउनको लागि हाम्रो टोली तयारी अवस्थामा रहेको छ । विभागकै एकजना इन्जिनियर टोलीको नेतृच्व गरिरहेको छ । सोमवार दिउँसोम्म हामी त्यो क्रुज हटाइसकेका हुन्छौँ ।’