काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उहाँको नाम एग्रिमोका लागि आएको हाे । नेपालमा राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूत बनाएर पठाउने चर्चा भइरहेका बेला भारतले भने कर्मचारी पृष्ठभूमिका कूटनीतिज्ञलाई नेपालका लागि प्रस्ताव गरेको हो।
सन् २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत दलेला यसअघि तीन वर्ष भुटानका लागि भारतीय राजदूत थिए। उनीसँग आर्थिक कूटनीति, विकास साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा रणनीतिक प्रविधिसम्बन्धी विषयमा लामो अनुभव छ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले तेल अभिभबाट कूटनीतिक करियर सुरु गरेका थिए। उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा समेत काम गर्नुभएकाे छ।
सन् २००९ देखि २०११ सम्म भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका उहाँले सन् २०१६ देखि २०१९ सम्म विदेश मन्त्रालयको नर्थ डिभिजनमा सहसचिवको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे। उक्त समयमा नेपाल र भुटानसँगको भारतको सम्बन्धसम्बन्धी विषयमा उहाँले नजिकबाट काम गरिसक्नुभएकाे छ।
व्यापार तथा आर्थिक नीतिमा समेत अनुभव भएकाे दलेलाले भारतको वाणिज्य विभागमा व्यापार नीति निर्देशक र विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरिसक्नुभएकाे छ।