काठमाडौं । नेपालमा सञ्चालन भइरहेको अमेरिकी अनुदानको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कार्यान्वयन अवधि एक वर्ष थप गर्ने तयारी भएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार परियोजना कार्यान्वयनका क्रममा अमेरिकी सहयोगको समीक्षाका कारण केही समय काम रोकिएको र बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण ढिलाइ भएकाले थप १२ महिनाको समय दिन नेपाल र अमेरिका सहमति नजिक पुगेका छन्।
एमसीसी कम्प्याक्टअनुसार परियोजना ‘इन्ट्री इन्टु फोर्स’ भएको मितिले पाँच वर्षभित्र सम्पन्न हुनुपर्ने व्यवस्था छ। नेपालमा परियोजना १३ भदौ २०८० देखि कार्यान्वयनमा आएको हो।
म्याद थपिए पनि परियोजनाको लागत नबढाउने गरी ‘नो कस्ट एक्स्टेन्सन’ अन्तर्गत अधिकतम १२ महिना समय थप गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
यस विषयमा एमसीए नेपालले अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ। अब अर्थ मन्त्रालयले म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि एमसीसीलाई जानकारी गराउने प्रक्रिया अघि बढ्नेछ।
नेपालले औपचारिक अनुरोध पठाएपछि आगामी डिसेम्बरमा बस्ने एमसीसी बोर्ड बैठकले म्याद थपबारे निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ।