काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
यसअघि बिहान ७ बजेबाट मतदान गर्ने भनिए पनि वर्षा र प्राविधिक तयारी पूरा नभएपछि १० बजेका लागि सारिएको थियो। तर, तयारी पूरा नभएकाले पुनः १ बजेसम्मका लागि मतदान सारिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
कांग्रेस महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा गरी सात केन्द्र तोकिएका छन्।
बागमतीका प्रतिनिधिले राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनीका प्रतिनिधिले प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्ने व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिले पनि खुलामञ्चबाट मतदान गर्नेछन्।