देवघाट । प्रसिद्ध तीर्थस्थल देवघाटधामको वेणी संगममा सोह्र श्राद्ध (पितृ पक्ष) का अवसरमा पितृकार्य गराउने क्रममा कतिपय पण्डित तथा पुरोहितहरूले कर्ताहरूसँग जबर्जस्ती पैसा माग्ने र रकम नपुगेको भन्दै रिसाउने तथा दुव्र्यवहार गर्ने गरेको गुनासो बढेको छ ।
पितृमुक्ति र श्रद्धाका साथ देवघाट पुगेका भक्तजन तथा कर्ताहरूका अनुसार तर्पण र श्राद्ध गराउने नाममा केही पुरोहितहरूले तोकिएको वा स्वेच्छिक दक्षिणाभन्दा बढी रकमको दबाब दिने गरेका छन् । मागबमोजिमको दक्षिणा नदिए असन्तोष व्यक्त गर्ने, कडा शब्द प्रयोग गर्ने र बीचमै काम छाडिदिनेजस्ता क्रियाकलाप हुने गरेको पीडित कर्ताहरूले बताएका छन् ।
श्रद्धा र भक्तिभावले पितृ कार्य गर्न आएका श्रद्धालुहरू पण्डितहरूको यस्तो व्यवहारले मर्कामा परेका छन् । पवित्र धार्मिक स्थलमा भइरहेको यस्तो अव्यावहारिक र अमर्यादित क्रियाकलापले देवघाटधामको गरिमा र धार्मिक आस्थामाथि नै चोट पुगेको भन्दै स्थानीयवासी र श्रद्धालुहरूले गुनासो गरेका छन् ।
यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न, पण्डित तथा पुरोहितहरूका लागि स्पष्ट आचारसंहिता तथा सेवा शुल्क तोक्न र श्रद्धालुहरूलाई सहजरूपमा धार्मिक कार्य गर्ने वातावरण मिलाउन देवघाट क्षेत्र विकास समिति तथा देवघाट गाउँपालिकाको ध्यानजानुपर्ने भक्तजनल बताएका छन् ।