रास्वपा महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए।
अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार आयोगले मंगलबार बिहानदेखि नै प्रमाण संकलनको काम सुरु गरेको छ। सांसद सुनार र अडियोमा नाम जोडिएकी महिलासँग भेटेर कुराकानी गर्ने प्रयास भइरहेको भट्टराईले बताउनुभयाे।
अडियोमा आएका विषय गम्भीर प्रकृतिका रहेकाले तथ्य तथा प्रमाणको सत्यापन र परीक्षणपछि निष्कर्षमा पुग्ने भट्टराईले बताएका छन्। आरोप लागेका व्यक्तिलाई समेत आफ्नो धारणा राख्ने अवसर दिइने उनको भनाइ छ। सुनार भने हाल काठमाडौं बाहिर छन्।
सांसद सुनारले एक महिलालाई अश्लील गालीगलौज गरेको र धम्की दिएको भनिएको अडियो सोमबार सार्वजनिक भएको थियो।
यस प्रकरणलाई रास्वपा संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको जनाएको छ। पार्टीका सचेतक प्रकाशचन्द्र परियारले अडियोमाथि छानबिन हुने र सम्बन्धित व्यक्तिको भएको प्रमाणित भएमा पार्टीले गलत गतिविधिको संरक्षण नगर्ने बताएका छन्।
परियारले पार्टीले विधि र प्रक्रियालाई पछ्याउने उल्लेख गर्दै प्रमाणका आधारमा आवश्यक निष्कर्षमा पुग्ने बताएका छन्।