विराटनगर।सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कोशी प्रदेशमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधानको पूर्ण कार्यान्वयन गर्दै संघीयता सुदृढ बनाउने, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनेलगायत नौबुँदे साझा प्रतिबद्धता व्यक्त गरेको हो ।
सम्मेलनले प्रदेश सरकारअन्तर्गतका संरचना, निकाय, समिति, बोर्ड तथा कार्यालयहरूको आवश्यकता, औचित्य, कार्यसम्पादन र उपलब्धिका आधारमा नियमित पुनरावलोकन गर्ने निर्णय गरेको छ । आवश्यकताअनुसार त्यस्ता संरचनाको एकीकरण, पुनर्संरचना वा खारेजी गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
प्रशासनिक संरचनालाई चुस्त बनाउँदै अनावश्यक खर्च घटाउने र त्यसबाट बचत हुने सार्वजनिक स्रोत नागरिक सेवा, उत्पादन, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा परिचालन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ । साथै, सबै प्रदेशमा एउटै प्रकृतिका काम गर्ने कार्यालय, निकाय र आयोगलाई एउटै नामबाट सम्बोधन गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।