निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सबै पदको मतगणना सकिएको छ। हाल मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। अघिल्लो १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।
मतगणनाका क्रममा दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो। यसपटक कुल एक लाख ६२ हजार हाराहारी मतपत्र गणना गर्नुपरेको कटुवालले जानकारी दिनुभयो।
कुल २२९ पदका लागि निर्वाचन भएको थियो भने ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।
निर्वाचन समितिका अनुसार मतदान तथा मतगणना प्रक्रिया विवादरहित र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ। नतिजा सार्वजनिक भएपछि नयाँ नेतृत्वको शपथग्रहण दशैँपछि हुने जनाइएको छ।