काठमाण्डौ, १६ चैत । निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि आन्दोलनरत पक्षसँग सरकारले वार्ता थालेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेसँगै आजैदेखि वार्ता सुरु हुन लागेको हो ।
सरकारका प्रवक्ता , सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु हुन लागेको जानकारी दिनुभयो । सरकारले मन्त्रिपरिषद् बैठकबाटै बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
रेशम चौधरीलाई रिहाइको माग गर्दै केही दिन अघिदेखि थारु कल्याणकारी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राजधानीको माइतीघरमा धर्ना दिँदै आएको छ । १९ बुँदे माग अघि सारेर आन्दोलित सो समूह रहँदै गर्दा जनता समाजवादी पार्टीले समेत चौधरीको रिहाइको माग गर्दै आएको छ ।
उनको रिहाइ भए सरकारमा जान तयार रहेको जसपाको एक समूहले बताउँदै आएको छ ।