Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देउवा र पौडेल बिच सार्वजनिक कार्यक्रममा भनाभन

देउवा र पौडेल बिच सार्वजनिक कार्यक्रममा भनाभन

इच्छाकामना न्युज

२८, चैत्र २०७७
देउवा र पौडेल बिच सार्वजनिक कार्यक्रममा भनाभन

काठमाडौं, २८ चैत । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् ।

images

शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।

कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको स्पष्ट पारे । ‘मैले केमा अवसर खेर फालें ?’ देउवाले प्रश्न गर्दै भने ।

यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन भएको थियो । त्यसमा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए ।

सभापति देउवाले संसद्को अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको बताए । उनले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको बताए ।

‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन । जो सुकै होस्, तयार पार्नुस् न मान्छे’ कांग्रेस सभापति देउवाले पौडेलतर्फ लक्षित गर्दै भने, ‘संख्या पुग्नुपर्यो नि । मचाहिँ संख्या नपुग्ने खेलमा छैन ।’

उनले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा पार्टीलाई भने धन्यवाद दिए । नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए । ‘जनताको मन जितेर हाम्रो सरकार बन्न सक्छ । जनताले बुझिसके त्यसैले आवश्यक परे चुनावको तयारी पनि गर्नुपर्छ,’ उनले भने । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०८:३०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology