कुुरिनटार, ३० चैत । मनकामना केबुलकार आज सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो ।
यस अघि ३१ बाट सञ्चालन गरिने जनाएपनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
२३ बर्ष पुरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिदैँ छ । यस अवधीमा केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार ६ दिन बन्द गर्ने सुचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आज सोमबारबाट नै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।
दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।