चितवन, ८ बैशाख । आज श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ। प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज त्यसतर्फ लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।
बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
श्रीराम नवमीका दिन बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ। बुधबार मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले सुनाए। प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ।
यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी छन्। गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए।