इजरायलले आफ्ना नागरिकलाई भारत सहितका अन्य ६ देशमा जान रोक लगाएको छ । प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयले संयुक्त प्रसविज्ञप्ति जारी गर्दै युक्रेन, ब्राजील, इथियोपिया, साउथ अफ्रिका, मेक्सिको र टर्की जानबाट रोक लगाइएको जनाएको हो ।
तीव्र रुपमा फैलिइरहेको कोरोना महामारीलाई मध्येनजर गर्दै तत्काल ती देशहरुमा यात्रा गर्न रोक लगाएको हो । भोलीदेखि लागू हुने उक्त आदेश मे १६ सम्मका लागि कायम रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गैर इजरायली नागरिकले भने लामो समय ती देशमा बिताउने योजना भएमा जान पाउनेछन् ।
ती देशबाट इजरायल आउन लागेका नागरिकहरुले भने २ हप्तासम्म क्वारेन्टिनमा बस्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना निको भइसकेका नागरिक वा खोप लगाएका नागरिकले पनि देशमा फर्किँदा अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नु पर्ने नियम बनाइएको छ ।
यो निर्णय कार्यान्वयनका लागि संसदको व्यवस्थापन कमिटिबाट स्वीकृति लिनु पर्ने कानूनी प्रावधान रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।