कुरिनटार, ९ जेठ । कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरुको उपचार व्यवस्थापनमा चितवनको इच्छाकामना लागिपरेको छ। संक्रमितको उपचारको लागि गाउँपालिकाले ३ ठाउँमा आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ।
गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आईसोलेसन सेन्टर संचालनमा ल्याईएको गाउँपालिकाका स्वास्थ्य शाखा सहयाक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो। देवकोटाका अनुसार गाउँपालिकाले दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ बेड, ५ नं. वडा कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा ४ बेड र वडा नं. ७ स्थित आधारभुत स्वास्थ्य इकाई स्याङ्दीमा ५ बेडको आईसोलेसन सेन्टर संचालनमा ल्याएको छ। संचालनमा ल्याईएको सबै आईसोलेसन सेन्टरमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उहाँले बताउनुभयो।
यस्तै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले नागरिकको उपचारमा सहज होस् भन्ने अभिप्रायले गाउँगाउँमा आइसोलेसन केन्द्रको व्यवस्था गरिएको बताउनुभयो। ‘संक्रमित नागरिकले समयमै सहज रुपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो’ –उहाँले भन्नुभयो।
यसैबिच इच्छाकामना गाउँपालिकामा पछिल्लो समय कोरोना भाईरसको दोस्रो भेरियन्टबाट संक्रमित हुनेको संख्या ४६ पुगेको छ। जसमा १ जनाको मृत्यु भएको छ भने ११ जना निको भएका छन्।
यस्तै गाउँपालिकामा हाल सक्रिय संक्रमितको संख्या ३४ छ। उनीहरु मध्य गाउँपालिकाले संचालन गरको आइसोलेसनमा ६ जना उपचाररत छन् भने अन्य सबै संक्रमित होम आइसोलेसनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ।