तनहुँ, २३ जेठ । स्वास्थ्य कर्मीको नक्कली कार्ड भिरेर अवैध लागुऔषध ओसारपसारमा संलग्न २ जनालाई तनहुँको आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले निषेधाज्ञाको समयमा आँबुखैरेनी गाउँपालिका ४ मा गरिरहेको नियमित चेकजाँचको क्रममा शुक्रबार अवैध लागुऔषध सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोरखा आरुघाट गाउँपालिका १ स्थायी घर भै हाल गोरखा नगरपालिका ७ सतिपिपल बस्ने २४ वर्षका पूर्णसिंह गुरुङ र तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थायी घर भै गोरखा नगरपालिका–१४ पाङकोट बस्ने २६ वर्षका उमेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका छन्।
उनीहरुले प्रहरीको आँखा छल्न अर्याल मेडिकल हल गोरखामा कार्यरत रहेको हेल्थ असिस्टेन्ट पदको पूर्णसिंह गुरुङको नामको परिचय पत्र बोकेका थिए। यस्तै उनीहरुले प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल मार्फत लागुऔषध ओसार पसार गर्ने गरेका थिए। प्रहरीले खत्रीको साथबाट डाईजेपाम र फेनरागन ९४÷९४ थान, नुफिन ९६ थान बरामद गरेको डिएसपी तिमिल्सिनाले बताए । उनका अनुसार हेल्थ असिस्टेन्टको कार्ड भिरेका गुरुङको साथबाट पनि ४ थान सिरिन्ज फेला परेको छ । यी दुवैलाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ परेकाहरुलाई आईतबार जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान गरीरहेको तिमिल्सिनाले बताए । ‘लागुऔषध प्रयोगकर्ता भएको खुल्न आएको छ । बाँकी अनुसन्धान हुदैँछ’, उनले भने, ‘स्वास्थ्यकर्मीको कार्ड भिरेर गलत काम भएको भेटियो । अब सवारी चेकजाँचमा झनै कडाई गर्छौ ।’ यसअगाडी विभिन्न जिल्लामा पनि प्रहरीले प्रेस कार्ड भिरेर लागुऔषध कारोबार गर्नेलाई पक्राउ गरेको थियो ।