आँबुखैरेनी, १५ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ को नवनिर्मित वडाकार्यालय भवनबाट सेवा सुचारु भएको छ। गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले एक कार्यक्रमका बिच भवन उद्घाटन गरेपछि आजदेखि सेवा सुचारु भएको हो।

गाउँपालिकाको वडा नं. ५ को वडाकार्यालयको नवनिर्मित भवनको निर्माण झण्डै डेढ वर्ष अगाडी नै सम्पन्न भएपनि कार्यालय संचालनमा आउन ढिलाई हुदाँ सेवा गाउँपालिकाकै कार्यालय आँबुखैरेनीबाट संचालन भैरहेको थियो। गाउँपालिकाले शुक्रबार मात्रै वडा नम्बर ५ सानुभञ्याङमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको उदघाटन गरेको हो।
भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडालाई पूर्वाधारयुक्त बनाउने उद्देश्य सहित भवन निर्माणलाई प्राथमिकता दिइएको बताए । आफ्नै भवन भएपछि सर्वसाधारणलाई सहज र सरल रुपमा सेवाप्रवाहमा सहयोग पुग्ने थापाको भनाई थियो ।

६३ लाख ८६ हजार पाँच सय २६ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणको ठेक्का बिएम कन्स्ट्रक्सन प्रालि नुवाकोटले पाएको थियो । विसं २०७५ चैत १० गते सम्झौता भएर विसं २०७६ चैत २ गते सम्पन्न भएपनि डेढ वर्षपछि भवनको उद्घाटन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले जानकारी दिए । “भवन निर्माण सम्पन्न भएपनि गाउँपालिकाले पालिकाकै भवनबाट सेवा प्रवाह गर्दै आएको थियो, अब भने नवनिर्मित भवनबाटै सेवा प्रवाह हुनेछ,” पोख्रेलले भने ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडा नम्बर १, ४ र ५ को भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर २ र ३ ले सामुदायिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । यद्यपि उक्त भवनको भाडा भने तिर्नुपर्दैन । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ६ को भवन निर्माण शुरु गरिने पोडेलले जानकारी दिए ।
आँबुखैरेनी–५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष लगायतको सहभागिता थियो ।