Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँको आँबुखैरेनी गाउँपालिकाका वडा कार्यालयहरु भाडा मुक्त हुदै

तनहुँको आँबुखैरेनी गाउँपालिकाका वडा कार्यालयहरु भाडा मुक्त हुदै

रासस

१७, श्रावण २०७८
तनहुँको आँबुखैरेनी गाउँपालिकाका वडा कार्यालयहरु भाडा मुक्त हुदै
images

तनहुँ, १७ साउन । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका छवटै वडा तथा आधारभूत स्वास्थ्य केन्द्र भाडामुक्त भएका छन् । गाउँपालिकामातहत रहेका वडामध्ये वडा नं ५ को वडा कार्यालय भवनको केही दिनअघि मात्रै उद्घाटन भएपछि सबै वडा भाडामुक्त भएका हुन् ।

images
images

गाउँपालिकाको रु ५६ लाख ८२ हजार ६१४ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । उक्त भवन निर्माणको जिम्मा बिएम कन्स्ट्रक्शन प्रालि नुवाकोटले पाएको थियो ।

विसं २०७५ चैत १० गते सम्झौता गरी विसं ०७६ चैत २ गते सम्पन्न भए पनि अहिले आएर उद्घाटन गरिएको हो । भवनको निर्माण दुई वर्षअघि सम्पन्न गरिए पनि विविध कारणले उद्घाटनमा ढिलाइ हुन पुगेको कार्यालयका सूचना प्रविधि अधिकृत नीरज श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिकामातहत रहेका सबै आधारभूत स्वास्थ्य केन्द्रको समेत आफ्नै भवन निर्माण भइसकेका छन् । वडा नं ६ मा स्वास्थ्य भवन निर्माण भइसकेको र उद्घाटनको चरणमा रहेकाले गाउँपालिकाका सबै वडा र स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी व्यास नगरपालिकाका १४ वडामध्ये १३ वडाले आफ्नो भवन निर्माण गरिसकेका छन् । व्यास–१ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै भाडामुक्त नगरपालिका बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

जग्गा विवादका कारण उक्त वडा भवन निर्माणमा ढिलाइ भएकाले भाडामुक्त नगरपालिका घोषणा गर्न नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण भइसकेकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - २०:५१:५१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology