मुग्लिन, १९ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन बजारमा स्वर्गीय बाबु समाजसेवी सुन बहादुर जुहारचनको स्मृतीमा छोरीहरुले आधा दर्जन स्थानीय संघसंस्थाहरुलाई लाखौ रुपैयाँ सहयोग गरेका छन्। समाजसेवी बाबुको सपना पूरा गर्ने भन्दै जुहारचनका छोरीहरुले आज आधा दर्जन स्थानीय संघसंस्थाहरुलाई २ लाख १६ हजार रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेका हुन्।
स्थानीय समाजसेवी जुहारचनको छोरीहरु सिता हिराचन, सुकुन्ता लालचन, सकुन्ती हिराचन, बसुधा हिराचन, निसुता लालचन र निरुता लालचनले संयुक्त रुपमा नगद तथा जिन्सी सहयोग गरेका हुन्। उनीहरुले थकाली सेवा समिति मुग्लिनलाई १ लाख ३६ हजार बराबरको जिन्सी सामान सहयोग गरेको छ।

यस्तै नेवार गुठी समाज मुग्लिन , ब्राह्मण समाज मुग्लिन र मगर समाज मुग्लिनलाई २०/२० हजारको दरले सहयोग प्रदान गरेको छ भने कर्तव्यनिष्ठ महिला समाज तथा सिर्जनशिल महिला जागरण केन्द्रलाई रु १०/१० हजारको दरले सहयोग रकम प्रदान गरेको छ।
सो सहयोग कार्यक्रममा नेवारी गुठी समाजका तर्फबाट कुमार श्रेष्ठ तथा सम्पूर्ण संघसंस्थाको तर्फबाट कर्तव्यनिष्ठ महिला समाजकी सचिव जुना राजभण्डारी तथा सिर्जनशील महिला जागरण केन्द्रकी अध्यक्ष सावित्री पुडासैनी खनालले बाबुको सम्झनामा छोरीहरुले गरेको सहयोगको स्रहाना गर्दै धन्यवाद व्यक्त गरेको छ।
