कुरिनटार,२३ कात्तिक । संघिय सांसद कृष्णभक्त पोखरेल र प्रदेश सांसद घनश्याम दाहालले निर्माणाधिन सडकको निरिक्षण गरेका छन् । चितवनको इच्छाकामना १ स्थित कालिनदेखि चौकी डाडाँ जोड्ने मोटरबाटोको निरिक्षण गरेका हुन् ।
अहिले वागमती प्रदेशबाट विनियोजित रु एक करोडको लागतमा सडक निर्माण भइरहेको छ । उक्त सडक निर्माणका लागि वागमती प्रदेशबाट यस बर्ष पनि थप रु ५७ लाख र गाउँपालिकाबाट रु ५७ लाख गरि एक करोड १४ लाख बजेट विनियोजन भएको वडाध्यक्ष नन्दलाल गिरिले जानकारी दिए । उक्त बजेटको कामका लागि चाडै टेण्डर प्रकृयामा जाने उनले बताए । कडा चट्टानका कारण सडक निर्माणमा कठिनाई भएको उनले बताए । कडा चट्टानकै कारण थप बजेट आवस्यक पर्ने उनको भनाई छ ।
यसैबिच संघिय सांसद कृष्णभक्त पोखरेल र प्रदेश सांसद घनश्याम दाहालले आवस्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
इच्छाकामना गाउँपालिकाको सबै भन्दा विकट मानिने वडा नम्बर १ का अधिकांश स्थानमा अझै मोवाइल टावर टिप्दैन । कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका सांसद पोखरेलले वडा नम्बर १ को धुमाथली डाडाँमा नेपाल टेलिकमको टावर राख्न पहल गरिदिने प्रतिवद्धता जनाए ।