मुग्लिन, १२ भदौ । चितवनको इच्छाकामना गाउँपालिकामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाईएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको आर्थिक वर्ष २०७७।०७८ को तथ्याङ्क अनुसार गाउँपालिकामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाईएको हो।
प्रहरीले दिएको जानकारी अनुसार आव २०७७।०७८ मा १० जनाले आत्महत्या गरेका छन्। जसमध्य सबैभन्दा बढि ९ जनाले झुण्डिएर र १ जनाले नदीमा हामफालेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य मगरले जानकारी दिए।
यसभन्दा अघिल्लो वर्षहरु आव २०७५।०७६ मा ३ जनाले विष पिएर र ६ जनाले झुण्डिएर आत्महत्या गरेको देखिएको छ भने आव २०७६।०७७ मा १ जनाले मात्र विष पिएर आत्महत्या गरेको देखिएको छ।
प्रहरीका अनुसार आव २०७७।०७८ मा कर्तव्य ज्यान मुद्दा १, गर्भपतन १, भवितव्य १, फुटकर ७, चोरी १, लागु औषध १, सार्वजनिक मुद्दा १, जबरजस्ती करण १, सवारी दुर्घटना १६, मृत्यु २१, घाईते १५ लगायतका भएका छन्। जस अनुसार सो आर्थिक वर्षमा इलाका प्रहरी कार्यालय मुग्लिनमा ४७ वटा घटना दर्ता हुदाँ १७ वटा फस्र्यौट भएको र ३० वटा फस्र्यौट हुन बाँकी रहेको छ।