Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको ऐनापहरा झरनामा सर्वसाधरणको आकर्षण बढ्दै

आँबुखैरेनीको ऐनापहरा झरनामा सर्वसाधरणको आकर्षण बढ्दै

रासस

२८, भाद्र २०७८
आँबुखैरेनीको ऐनापहरा झरनामा सर्वसाधरणको आकर्षण बढ्दै

आँबुखैरेनी, २८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रहेको ऐनापहरा झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं २ र ४ को सिमानामा पर्ने उक्त झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको हो । 

images

राजमार्गसँगै जोडिएका कारण पनि यात्रा गर्ने हरेक सर्वसाधारण झरनामा पुग्ने गरेका छन् । झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिंउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । 

काठमाडौं–स्याङजा यात्राका क्रममा मानिसको चहलपहल देखेपछि झरनामा पुगेका स्याङ्जाका राजकुमार तामाङले झरना निकै राम्रो लागेको प्रतिक्रिया दिनुभयो । काठमाडौंका सचिन खड़काले टिकटकमा झरना देखेर यात्रा गर्दा आफू पनि उक्त भरनामा पुगेको जानकारी दिनुभयो । खोला बढेका बेलामा पानीको बेग बढी हुने भएकाले झरना मनमोहक देखिएको उहाँले बताउनुभयो। 

तनहुँको व्यास नगरपालिका ४ का सुदिप पौडेलले ऐनापहरा महत्वपूर्ण पर्यटकीय गन्तव्य रुपमा विकास हुन थालेको सुनाउनुभयो । त्यस क्षेत्रमा पार्किङको समस्या देखिएकाले गाउँपालिकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । निजी सवारी साधनमा राजमार्ग हँदै यात्रा गर्ने अधिकांश सर्वसाधारण झरनामा केही समय भुल्ने गरेका छन् ।

आँबुखैरनी ४ का वडाध्यक्ष नेत्र गुरुङले दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनासम्म आउने गरेको जानकारी दिनुभयो । झरनामा पर्यटकीय चहलपहल बढेसँगै गाउँपालिकाले यसलाई व्यवस्थित बनाउन पहल थालेको छ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले सर्वसाधारणको चहलपहल बढ्न थालेकाले पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थिति हुन थालेपछि सवारी व्यवस्थापनका लागि पार्किङ निर्माणको काम शुरु गर्ने तयारीमा छौँ ।” राजमार्गमा यात्रा गर्नेहरुले यस ठाउँलाई थकाइ मेटाउने स्थलका रुपमा विकास गरिरहेको उहाँले बताउनुभयो। 

सर्वसाधारणको चहलपहल बढेपछि यहाँका स्थानीयवासीलाई आयआर्जनको माध्यम पनि भएको छ । पानी, चाउचाउ लगायतका खाद्य पदार्थ बिक्री वितरण गरेर स्थानीयवासीले आम्दानी गर्न थालेका छन । 

ऐनापहरा झरनालाई व्यवस्थित बनाउन डिपीआर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा यस ठाउँका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ। रु १० करोडको बजेटमा संरचना निर्माण गरिने पोख्रेलले बताउनुभयो ।

 आर्थिक वर्ष २०७८७९ मा ३० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - १९:२०:२२ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology