आँबुखैरेनी, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधीले नियमविपरित भक्ता बुझेको पाईएको छ। आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाका जनप्रतिनिधीले नियमविपरित भक्ता बुझेको महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको अन्तिम लेखापरीक्षण प्रतिवदेनमा उल्लेख गरेको छ।
प्रतिवेदन अनुसार कोरोना संक्रमणको उपचारमा संग्लग्न जनशक्तिको जोखिम भक्ता व्यवस्थापन आदेश २०७७ बमोजिम संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका प्रशासनिक कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई मात्र उनीहरुको तलब बमोजिम जोखिम भक्ता उपलब्ध गराउने भनेकोमा गाउँपालिकाका ८ जना जनप्रतिनिधिले ३५ हजारका दरले ६ लाख ३९ हजार ६ सय ८० रुपैयाँ भक्ता बुझेको उल्लेख छ।
यस्तै गण्डकी प्रदेशले तयार गरेको गाउँसभा नगरसभा र जिल्ला समन्वयसमितिका सदस्यले पाउने सुविधा सम्बन्धि ऐन २०७६ मा खाजा भत्ता दिने व्यवस्था नगरेकोमा गाउँपालिकाले उक्त आर्थिक वर्षको श्रावण देखि मंसिरसम्म अध्यक्ष सहित वडाध्यक्ष सबैर्ले मासिक ३ हजारको दरले १ लाख २० हजार र कार्यपालिका सदस्यहरु सबैले पुसदेखि असार मसान्तसम्म ५ हजारको दरले ४ लाख ९० हजार गरि ६ लाख १० हजार रुपैयाँ खाजा भक्ता नियम विपरित बुझेको पनि प्रतिवेदनमा लेखिएको छ।
यसैगरी गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धि ऐन २०७६ को दफा १६ मा पदाधिकारीलाई अनुसूचिमा तोकिए भन्दा बढि सुविधा नहुनेमा जनप्रतिनिधीहरुको पोशाक भक्ता भन्दै ३ लाख रुपैयाँ भुक्तानी भएको छ।
यसरी आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधीले नियम विपरित आफुखुशी निर्णय गरेर झण्डै साढे १५ लाख रुपैयाँ विभिन्न भक्ता बुझेर गाउँपालिकालाई अतरिक्त भार पारेको देखिन्छ। आउदाँ दिनमा यस्ता कार्यहरु नगर्न महालेखाले गाउँपालिकालाई सचेत गराउनुका साथै पोशाक भक्ता वापत भुक्तानी गरेको ३ लाख रुपैयाँ असुल उपर गर्न समेत परीक्षकको कार्यालयले निर्देशन दिएको छ।
