Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

किराँत समुदायका अधिकांशले दशैं मान्न छाडे

किराँत समुदायका अधिकांशले दशैं मान्न छाडे

इच्छाकामना न्युज

३०, आश्विन २०७८
किराँत समुदायका अधिकांशले दशैं मान्न छाडे
images

ताप्लेजुङ, ३० असोज । विगतका वर्षहरूमा लिम्बू समूदायको दशैं मार हन्ने र धुमधामसंग दशैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्सैँन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आज भोलि लिम्बू समूदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ ।

images
images

विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोपभएसँगै लिम्बुहरूको दशैं मान्ने संस्कृति पनि लोप हुदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समूदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैं पर्व मनाउने गरेको पाइन्छ ।

हाल धर्म विशेष संस्कार वा चाडपर्वहरू आपसी सद्भाव तथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात मनाउने गरेका छन् । गैर हिन्दू अर्थात फरक धर्मावलम्बी वा समुदायले त्यस्ता चाडपर्वहरू मनाउने गर्नाले कतिपय पर्वहरू साझाजस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दापनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैं पर्व दही अक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् ।

सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिलेपहिले भव्य रूपमा सेतो टीका जमरा लगाएर साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैं पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाहरूको भनाइ छ ।

आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैैं पर्व टीकाको दिन आफूभन्दा सानालाई दही अक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्यहरू जुटेर दशैं पर्व मनाउने गरिए पनि लिम्बू समूदायका अगुवाले दशैं सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैं मनाउन र टीका लगाउन बाध्य बनाइएको बताए । राज्य एकीकरणका क्रममा लिम्बू सुब्बाहरूलाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैं नमनाए सबै जिम्मावाल अर्थात अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैंमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउँछन् ।

सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगै पछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समूदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् ।

लिम्बूलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झाना स्वरुप अहिले लिम्बूले दही अक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किराँत समुदायको चाड नभए पनि साँस्कृतिक सद्भावकै लागि दशैं मनाउँदै आएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताए । पछिल्लो समय लिम्बू समूदायमा चेतनाको विकास हुँदै गएपछि दशैंमा सेतो टीका र जमरा लगाउने तथा पञ्चावली गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - ०७:४४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology