Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँका किसानले उत्पादन गरेको सिताके च्याउले पाएन् बजार, उपभोक्ताले किन्न मान्दैनन्

तनहुँका किसानले उत्पादन गरेको सिताके च्याउले पाएन् बजार, उपभोक्ताले किन्न मान्दैनन्

न्युज कारखाना

२८, कार्तिक २०७८
तनहुँका किसानले उत्पादन गरेको सिताके च्याउले पाएन् बजार, उपभोक्ताले किन्न मान्दैनन्

तनहुँ, २६ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ तार्कुडाँडा भंगराका किसान सामूहिक रूपमा सिताके च्याउ उत्पादनमा होमिएका छन् । पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदिला बनेका १६ जना किसान समूह बनाएर सिताके च्याउ खेतीमा समर्पित भएका हुन् ।

images

५०० कटुसको मुढामा च्याउ लगाइएको छ । पहिलो वर्ष अपेक्षित उत्पादन भएन । ४७ किलो मात्र उत्पादन भएको थियो । समूहमा आबद्ध किसानले उपभोग गरे । बाँकी रहेको बजारमा खोसाखोस भयो ।

यसपाली च्याउ रहर लाग्दो गरेर फल्न सुरु गरेको छ । मुढामा फलेका च्याउले हौसाएको छ किसानलाई । तर, बजार पाउन मुस्किल भएको छ । बजार नपाएपछि किसान आफैँले उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो सहज बजार पाउन नसकेको तार्कुडाँडा भंगरा कृषक समूहका अध्यक्ष उदयराज खनाल बताउँछन् । उनी भन्छन्, ‘मेहनत गरेर च्याउ फलायौँ । एउटै मुढामा १०० को हाराहारीमा च्याउ फलेको छ । तर, बजार पाउन सकेका छैनौँ । उचित बजार खोजिरहेको छौँ ।’

यसको मूल्य अलि मंहगो पर्ने भएकाले बजार नपाएको उनले बताए । सुरूमा ७०० रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि अहिले मूल्य घटाएर ६०० रुपैयाँमा बिक्री भइरहेको छ । बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी भएको खनालले जनाए । यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाई चिन्न नसकेको कारण बजार नपाएको उनको बुझाइ छ ।

गत असोज यता यता २०० किलो बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने भन्ने चिन्ताले सताएको किसान बताउँछन् । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ । सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आंशका गर्दै ग्राहकले खरिद गर्न नखोज्ने कृषक समूहका सचिव खेम गुरुङ बताउँछन् ।

‘पहिलो चरणमा त हामीले जनप्रतिनिधिलाई बेचेका छौँ । जनप्रतिनिधिले किनेपछि त अरूले पनि किन्लान् ठानेर’, उनले सुनाए । पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा पनि बिक्रीका लागि प्रयास भइरहेको उनले बताए ।

किसानले च्याउ खेतीमा हालसम्म करिब पाँच लाख रुपैयाँ लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका-२ को कार्यालयले बिउ खरिदमा गत आर्थिक वर्षमा ५० हजार रुपैयाँ अनुदान दिएको थियो । समूहमा आवद्ध किसानले ४८ हजार रुपैयाँ नगद लगानी गरे । ‘धेरै त हामीले श्रमदान नै गरेका छौँ’, उपाध्यक्ष नेत्रबहादुर गुरुङले बताए । बाङ्गे रह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा नि:शुल्क दिएको गुरुङले जानकारी दिए । तार्कुडाँडा भंगरा खानेपानी उपभोक्ता समितिले नि:शुल्क आवश्यक पानी उपलब्ध गराएको छ । 


कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउने टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भए पनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । ‘स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदानभन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ’, उनले भने ।

किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखि फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एक पटक मुढामा बिउ रोपेपछि पाँच वर्षसम्म अर्थात् मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २०:३२:३६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology