काठमाण्डौ, २ मंसिर । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन्। यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो।
नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। धेरैजसोले भने हिजो मंसिर १ गते नै भाइटीका लगाएका छन्। भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ। दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ।
त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ। मन्दिर हिजो पनि खुल्ला गरिएको थियो। कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरेर मन्दिर जाने व्यवस्था मिलाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ।