Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे

जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे

न्युज कारखाना

१०, मंसिर २०७८
जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे
images

काठमाडौं, १० मंसिर । सामान्यतया शिवलाई परम पुरुष भनेर सम्बोधन गरिन्छ— शिव परम पौरुषका प्रतीक हुन् । तर, तपाईंले शिवको अर्धनारीश्वर रूपमा यो देख्न सक्नुहुन्छ कि उनको आधा भाग पूर्ण विकसित नारी हो ।

images
images

म पहिला तपाईंहरूलाई यस बारेमा एउटा कथा भन्छु । शिव परम–आनन्दको अवस्थामा थिए, र यसले गर्दा पार्वती शिवतर्फ आकर्षित भइन् । पार्वतीले उनलाई रिझ्याउन थुप्रै तरिकाहरू अपनाइन् अनि सबैथरीका सहायताहरू लिइन्, जसपश्चात दुवैको विवाह भयो । उनीहरूको विवाह भएपछि, स्वाभाविक रुपमा, शिवले पार्वतीसँग आफूले अनुभव गरिरहेको कुरा बाँड्न चाहे ।

पार्वतीले भनिन्, "तपाईं आफूभित्र जुन अवस्थामा हुनुहुन्छ, म पनि त्यसलाई अनुभव गर्न चाहन्छु । त्यसको लागि मैले के गर्नुपर्छ ? कृपया मलाई बताउनुहोस् । म जस्तोसुकै तपस्या गर्नको लागि तयार छु ।” शिव मुस्कुराए अनि भने, “ प्रिय, तिमीले कुनै ठूलो तपस्या गर्न आवश्यक छैन । तिमी यता आऊ अनि मेरो काखमा बस ।” पार्वती आइन् अनि कुनै हिचकिचाहटबिनै शिवको बायाँ काखमा बसिन् । उनी पूरै इच्छुक थिइन, उनले आफूलाई पूर्ण रूपमा शिवको हातमा सुम्पिएकी थिइन्, र यसैले गर्दा शिवले उनीलाई आफूभित्र ताने अनि उनी उनको आधा भाग भइन् ।

यसमा बुझ्नु पर्ने कुरा यो छ कि यदि शिवले पार्वतीलाई आफ्नै शरीरभित्र स्थान दिनुपर्ने हो भने, उनले आफ्नो आधा भागलाई हटाउनु पर्ने हुन्छ । अतः शिवले आफ्नो आधा भागलाई हटाए अनि पार्वतीलाई आफूमा समावेश गरे । यही अर्धनारीश्वरको कथा हो । यसले मूलतः यो दर्शाउने कोशिस गरिरहेको छ कि तपाईंभित्र पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) बराबर बाँडिएको हुन्छ । अनि, जब शिवले पार्वतीलाई आफूभित्र समाहित वा समावेश गरे, तब उनी परम–आनन्दको अवस्थामा पुगे । यसले यो सङ्केत गरिरहेको छ कि हामीभित्रको पौरुष र स्त्रैणको मिलन भयो भने, तपाईं परम–आनन्दको चिरस्थायी अवस्थमा रहनुहुन्छ । यदि तपाईंले बाहिरी संसारमा त्यसो गर्न खोज्नुभयो भने, यो कहिल्यै टिक्दैन । साथै, त्योसँगै आउने अनेक समस्याहरू अन्तहीन नाटक बन्दछन् ।

मूलतः यो दुईजना व्यक्तिहरूको मिलनको चाहना होइन, बरु जीवनका दुई आयामहरूको मिलनको तीव्र चाहना हो, जो बाहिर साथसाथै भित्र  समेत एक हुन चाहन्छन् । यदि यसलाई तपाईंले आफूभित्र प्राप्त गर्नुभयो भने, बाहिरी मिलन शत–प्रतिशत तपाईंको रोजाइ अनुसार हुनेछ । अन्यथा, बाहिरी मिलन भयानक रूपमा बाध्यात्मक बन्नेछ । यही जीवनको तरिका हो । यो यस्तो वास्तविकता हो, जसलाई कथाको माध्यमले सुन्दर तरिकाले व्यक्त गरिएको छ— शिवले पार्वतीलाई आफ्नो एउटा भागको रूपमा समावेश गरे अनि त्यसैले आधा–नारी, आधा–पुरुष बने ।

यसले यो सङ्केत गरिरहेको छ कि यदि तपाईं आफ्नो चरम रूपमा विकसित हुनुभयो भने, तपाईं आधा पुरुष र आधा नारी हुनुहुनेछ— नपुंसक होइन, बरु पूर्ण विकसित पुरुष र पूर्ण विकसित स्त्री बन्नुहुनेछ ! र त्यसबेला मात्रै, तपाईं पूर्ण विकसित मानव बन्नुहुन्छ । तपाईंमा विषम (असमान) विकास भएको हुँदैन, तपाईं केवल पौरुष वा केवल स्त्रैण रहनुहुन्न, तपाईंले यी दुवैलाई पूर्ण रूपमा विकसित हुन दिनुभएको हुन्छ । पौरुष र स्त्रैण भनेको "पुरुष" र "स्त्री" होइन । यी निश्चित गुणहरू हुन् । यी दुवै गुणहरूबिच सन्तुलन भयो भनेमात्र, मानिसको जीवन तृप्त बन्दछ ।

यदि तपाईंले अर्धनारीश्वरको कथालाई सृष्टिको प्रतीकको रूपमा हेर्नुभयो भने, यी दुई आयामहरू— शिव र पार्वती वा शिव र शक्ति— लाई पुरुष र प्रकृति भनिन्छ । अचेल सामान्यतया "पुरुष" शब्दलाई "केटा" को रूपमा बुझिन्छ, तर यसको अर्थ त्यो होइन । प्रकृति भनेको "सृष्टि" हो । पुरुष त्यो आयाम हो, जो सृष्टिको स्रोत हो । सृष्टिको स्रोत त्यहीँ थियो, सृष्टि बन्यो अनि यो सृष्टिको स्रोतमा पूर्ण रूपमा समाहित भयो । जसलाई पुरुष भनिन्छ, त्यो कारक हो अर्थात् त्यो प्ररेक हो जसले चीजहरूलाई चलायमान राख्दछ । जब अस्तित्व आदिम अवस्थामा थियो, जब यो सृष्टिको अवस्थामा थिएन, जसले यसलाई एक्कासि सक्रिय बनाएर सृष्टिको रूप दियो, त्यो आयामलाई हामी पुरुष भन्छौँ । चाहे मानिसको जन्म भएको होस्, वा कमिलाको जन्म भएको होस्, वा ब्रह्माण्डमको जन्म भएको होस्, सबै एउटै तरिकाले भइरहेको छ । मानिसहरूको बुझाइको सन्दर्भमा यसलाई पुरुष वा पौरुष भन्ने गरिन्छ ।

सम्पूर्ण मानव जनसङ्ख्या व्यक्तिको एक कार्य— सम्भोग— ले गर्दा भएको हो, होइन त ? त्यो कुनै महान् कार्य होइन । यो जुनसुकै तरिकाले हुन सक्छ । यो गैर–जिम्मेवारपूर्ण तरिकाले, लापरवाही ढङ्गले, जबरजस्ती, क्रोधमा, घृणामा हुन सक्छ— यो सधैँ राम्रोसँग हुन्छ भन्ने छैन । तपाईंको तरिका जस्तोसुकै भए तापनि जनसङ्ख्या थपिन्छ । तर, गर्भमा जे भएको हुन्छ, त्यो जस्तोसुकै तरिकाले हुन सक्दैन । यो निकै व्यवस्थित र सुन्दर रूपमा हुनुपर्दछ, नत्र यसले काम गर्ने छैन । यदि त्यो प्रक्रियामा केही गलत भयो अथवा त्यो बलपूर्वक भयो भने, जीवन सम्भव हुन सक्दैन ।

अतः जब हामी यो आधारभूत प्रक्रियालाई हेर्छाैँ, जसले सृष्टिलाई चलायमान बनाएको छ, त्यो प्रक्रिया एउटा मात्रै कार्य जस्तो देखिन्छ । त्यसलाई पुरुष भनिन्छ, तर यसलाई अगाडि बढाउँदै बिस्तारै जीवनको रूप दिने आयामलाई हामी प्रकृति वा सृष्टि भन्दछौँ । यसैकारण, प्रकृतिलाई स्त्रैणको रूपमा चिनिन्छ ।

आज, हाम्रो समाज अनि यहाँ सम्म कि नारीहरूले समेत स्त्रैण प्रकृतिलाई कमजोरी भनेर गलत रूपमा बुझेका छन् । एउटी नारी पुरुष जस्तो बन्ने प्रयत्न गरिरहेकी छिन्, किनकि अहिले विश्वमा आर्थिक पक्ष प्रमुख शक्ति भएको छ । सबैथोक पुनः आदिम युगतिर फर्किएको छ— जीविकाको लागि सङ्घर्ष चलिरहेको छ । एकपटक जब त्यसो गर्नुहुन्छ, पौरुषको प्रभुत्त्व हुन्छ । हामीले प्रेम, करुणा र जीवनलाई अङ्गाल्ने सूक्ष्म पक्षहरूको सट्टा भद्दा र बीभत्स शैलीमा विजय पाउने शैली रोजेका छौँ ।

तपाईंले यो देख्नुहुनेछ कि यदि तपाईंसँग पौरुष मात्र छ भने, तपाईंसँग सबैथोक हुनेछ, तैपनि तपाईंसँग केही पनि हुने छैन । समाजमा स्त्रैण पक्षलाई चेतनशील रूपमा हुर्काउनु र त्यसको उत्सव मनाउनु अत्यन्तै आवश्यक छ । यो विद्यालय स्तरबाटै हुन जरूरी छ । बच्चाहरूलाई विज्ञान र प्रविधिमा जति प्रेरित गरिन्छ, त्यति नै सङ्गीत, कला, दर्शन र साहित्य जस्ता विषयमा जानको लागि समेत प्रेरणा दिनुपर्छ । यदि यस्तो नहुने हो भने, संसारमा स्त्रैण वा स्त्री सुलभ गुणको लागि कुनै स्थान नै रहने छैन । यदि हामीले आफ्नो जीवनको संरचनामा पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) लाई बराबर भूमिकामा व्यक्त हुन नदिने हो भने, हामी एकदमै अपूर्ण जीवन बाँच्ने छौँ, एकतर्फी जीवन बिताउने छौँ ।

–सदगुरुको प्रवचनमा आधारित

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०८:५३:५२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology