काठमाण्डौ, ४ मंसिर । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ। गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो। तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो।
एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन। दरबन्दी थपिएको सम्बन्धी पत्र हिजो प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले सीआईएनसँग बताउनुभयो। दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ।