स्नेहा कर्ण, काठमाडौं, १९ माघ । नेपालमा क्षेत्रीय विचारको जगमा राजनीतिक दल गठन गर्नेक्रम रोकिएको छैन । निश्चित भूगोल, विषय वा क्षेत्रका लागि भनेर खुल्ने दलहरू भविष्यमा भने राष्ट्रिय रूपमा स्थापित हुने महत्वाकाङ्क्षा राख्छन् । विशेष गरी मधेसका नागरिकका लागि भनेर स्थापना भएका राजनीतिक दलहरूले भने कार्यकर्ता, त्यस क्षेत्रका नागरिकको अपेक्षा पूरा नगरेको गुनासो सुनिन्छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर २१ महिनाअघि जनता समाजवादी पार्टी गठन भयो । पार्टीबाट महन्थ ठाकुर लगायतका नेता बाहिरिएपछि कार्यकर्ता मात्रै होइन, जिल्ला तहका नेता पनि मनोबल कमजोर भएको ठान्छन् । पार्टी गठन भएको २१ महिना बितिसक्दा पनि नेतृत्वले पूर्णता पाउन सकेको छैन । त्योसँगै राष्ट्रिय सम्मेलनको माग पनि जिल्ला तहका नेताको छ ।
जसपाकै नेता चिनक कुर्मी भने पार्टी महाधिवेशन वा राष्ट्रिय सम्मेलनलाई चर्चामा आउने आधार मात्र ठान्नुहुन्छ । पार्टीको विधानमा ५ वर्षमा महाधिवेशनबाट वा कार्यकारीणी समितिको बैठकबाट पदाधिकारी चयन गर्ने व्यवस्था जसपाको विधानमा छ । तर कार्यकारी समितिले नै पूर्णता पाएको छैन । आफूहरू स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने तयारीमा जुटेको बताउनुहुन्छ केन्द्रीय अध्यक्ष उपेन्द्र यादव । विचार र पद नमिलेपछि पार्टी फुटाउने प्रवृति जसपामा पनि देखियो ।
जनता समाजवादी पार्टी ७ महिना अघि विभाजित भयो र नेता महन्थ ठाकुरको नृतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भयो । मधेसका नागरिकको भावनालाई समेट्न दल खोलिए पनि विधानमा लेखिए जसरी अघि बढ्न नपाउँदै पार्टी विभाजन, विवादको भूमरीमा फस्ने समस्या दोहरिँदै आएको छ । आन्तरिक किचलोका कारण उनीहरूले नागरिकको पक्षमा काम गर्न नपाएको बताउँछन् ।