Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्था ‘प्यारालाइसिस’, महाधिवेशन हुने छैन टुंगो

कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्था ‘प्यारालाइसिस’, महाधिवेशन हुने छैन टुंगो

इच्छाकामना न्युज

२५, माघ २०७८
कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्था ‘प्यारालाइसिस’, महाधिवेशन हुने छैन टुंगो
images

ईश्वरी बराल, काठमाडौं, २५ माघ । सत्तारुढ नेपाली कांग्रेसका १३ वटा भ्रातृसंगठन सबैको म्याद सकिएको छ । १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै अवधि बाँकी छ । केही भ्रातृसंघले अधिवेशनको तयारी गरेको बताएका छन् । केहीको नेतृत्व दुई दशकदेखि फेरिन सकेको छैन । 

images
images

दुई महिनाअघि पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनबारे छलफल गर्ने तय गरेको छ । पार्टीको आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका सम्बन्धमा छलफल गर्ने तय भएको छ । 

नेपाल किसान संघको अधिवेशन २० वर्षदेखि हुन सकेको छैन भने नेपाल प्रजातन्त्र सेनानी संघको पनि २० वर्षदेखि नै नेतृत्व फेरिन सकेको छैन । महिला संघले विधानतः चार वर्षे समयवधि सकिएर अघिल्लो वर्ष नै अधिवेशन गर्नुपर्ने भए पनि गर्न सकेको सकेको छैन ।

नेपाल तरुण दलमा २०७३ सालमा भएको अधिवेशनपछि आएको जितजंग बस्नेत नेतृत्वको कार्यसमितिको समयावधि २०७६ सालमा सकिएको छ । यसलाई पनि समय थप्दै जीवित राख्ने प्रयास भइरहेको छ । नेपाल विद्यार्थी संघको २०७३  भदौमा काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन । महरको कार्यकाल सकिएपछि समय थप गरेर उनको कार्यकाल केही समय लम्ब्याइएको थियो । त्यसमा विवाद भएपछि पार्टीले २०७६ सालमा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिले अहिलेसम्म पनि अधिवेशन गराउन सकेको छैन ।

नेपाल दलित संघको अधिवेशन चार वर्षदेखि हुन नसकेको संघका कोषाध्यक्ष हरिशरण नेपालीले जानकारी दिए । २०६३ सालमा तदर्थ समिति बनाएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघले २०६६ सालमा पार्टीको भ्रातृसंघको रूपमा मान्यता पाएको हो । त्यसपछि अधिवेशन हुन नसकेको तदर्थ समितिका अध्यक्ष भोजराज श्रेष्ठले बताए । 

नेपाल ठाकुर समाजको अधिवेशन सात वर्षदेखि हुन छैन । पार्टीको महाधिवेशन सकिएकाले अब आफूहरूले अधिवेशन गर्ने तयारी गरेको समाजका अध्यक्ष अनिरुद्रप्रसाद ठाकुरले बताए । नेपाल मुस्लिम संघ र राष्ट्रिय मगर संघको पनि ६ महिनाअघि तीन वर्षे कार्यकाल समाप्त भएको छ । 

नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी तथा जनजाति संघ र नेपाल तामाङ संघको पनि अधिवेशन हुन सकेको छैन । यीमध्ये पाँचवटा भ्रातृसंगठनका प्रमुख पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए पनि भ्रातृसंस्थालाई रिक्त बनाएको तथा समयमा अधिवेशन सम्पन्न गर्न नसकेको भनेर कांग्रेस नेतृत्वको आलोचना भएको छ । केन्द्रीय सदस्य बन्नेमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार र दलित संघका मीन विश्वकर्मा छन् ।

यस्तै, पार्टीका १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै म्याद बाँकी रहेको पार्टी केन्द्रीय कार्यलयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए । नेपाल ट्रेड युनियन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको म्याद बाँकी रहेको छ भने अरु सवैको अधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्नेछ । 

नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, गैरसरकारी संस्था महासंघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ, लोकतान्त्रिक नेवा खल र डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसनको म्याद सकिएको छ । 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २०:०१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology