Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको विकासको निम्ति बागमती प्रदेश सरकारले कुनै कन्जुस्याई गर्दैनः प्रदेश पर्यटनमन्त्री नेपाल

इच्छाकामनाको विकासको निम्ति बागमती प्रदेश सरकारले कुनै कन्जुस्याई गर्दैनः प्रदेश पर्यटनमन्त्री नेपाल

चित्र बहादुर गुरुङ

११, मंसिर २०७७
इच्छाकामनाको विकासको निम्ति बागमती प्रदेश सरकारले कुनै कन्जुस्याई गर्दैनः प्रदेश पर्यटनमन्त्री नेपाल

जलविरे, ११ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाको समग्र विकासको निम्ति बागमति प्रदेश सरकारले कुनैपनि कन्जुस्याई नगर्ने बागमति प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले बताउनु भएको छ। प्रदेश सरकारको लगानीमा इच्छाकामना गाउँपालिकाको जलविरेमा रहेको लामो झरनामा निर्माण भएको गोलघर र प्रवेशद्वारको समुद्घाटन गर्दै मन्त्री नेपालले यस्तो बताउनु भएको हो।

images

11.jpg

समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा इच्छाकामना गाउँपालिका पर्यटनको अत्याधिक सम्भावना भएको गाउँपालिका भएकोले यहाँको पर्यटन प्रवद्र्धनका लागि कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो। यस्तै उहाँले विकास भनेको बाटो मात्रै नभएकोले बाटो मात्रै आएर जनताको जीवनस्तर र आयआर्जनमा परिवर्तन नहुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘जनताको विकासको लागि समृद्धिको लागि बाटो ल्याउने मात्र नभै गाउँमा उत्पादन वृद्वि गरि गाउँमा उत्पादित सामाग्री बजार पु¥याई आम्दानी बढाउन सके मात्र जनताको समृद्धि र विकास हुने हुदाँ आगामी दिनमा हामी सबैले यो कुरालाई मनन गर्नुपर्छ।’ 

1.jpg
जनताको यीनै परिवर्तनका लागि सरकारले अब बिना धितो युवाहरुको शीपमा लगानी गरी युवाहरुलाई आयआर्जनमा जोड्ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो। 

10.jpg
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहनुभएका चितवनका संघिय सांसद कृष्णभक्त पोखरेलले इच्छाकामना पर्यटनको प्रशस्त सम्भावना भएको स्थान हुदाँहुदै पनि यसको मार्केटिङ गर्न नसक्दा पछि परिरहेको बताउनुभयो। यहाँको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न सके पर्यटनबाटै जनताको जीवनस्तर उकास्न सक्ने उहाँले बताउनुभयो। 

6.jpg
यसैबिच कार्यक्रमका अतिथि प्रदेश सांसद घनश्याम दाहालले हरेक आर्थिक वर्षमा प्रदेश सरकारले लामो झरनाको पर्यटन विकासका लागि बजेट विनियोजन गर्ने गरेकोमा बुझाईमा केहि कमजोरी हुदा यो वर्ष बजेट छुट्न पुगेको बताउनुभयो। लामो झरनामा पर्यटक भित्र्याउनको लागि अझै पनि धेरै कामहरु गर्न बाँकी रहेकोले हरेक वर्षको पहिलो चौमासिक पछि हुने बजेट रकमान्तरमा धेरथोरै भएपनि रकम व्यवस्थापन गरिदिन उहाँले प्रदेश पर्यटन मन्त्री नेपाल समक्ष आग्रह समेत गर्नुभयो। 

5.jpg
उता  कार्यक्रमका प्रमुख अतिथि एवं इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले लामो झरना इच्छाकामनाको प्रमुख पर्यटकिय स्थल मध्यमा एक भएकोले यसको व्यवस्थापन र प्रवद्र्धनको लागि गाउँपालिका अनवरत लागिरहेको बताउनुभयो। विशेष गरेर इच्छाकामना कृषि र पर्यटनको उर्वर भुमी भएर पनि भौगोलिकताका कारण पछाडि परेकोले यहाँको विकास र समृद्धिको लागि स्थानीय सरकार निरन्तर लागिरहेको साथै संघ, प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। 

4.jpg
इच्छाकामना गाउँपालिका वडा नं. ६ जलविरेमा रहेको लामो झरना पछिल्लो समय जिल्लाकै प्रमुख पर्यटकिय स्थलको रुपमा परिचित हुदै गएको छ। मुग्लिन नारायणगढ सडक खण्डको जलविरेबाट करिब १५ मिनेटको पैदल यात्रामै पुग्न सकिने यो झरना अवलोकनका लागि पछिल्लो समय दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन्। यहाँ गर्मी मौसमा क्यानोनिङ गर्नेहरुको समेत भीड लाग्ने गरेको छ। यहि स्थल प्रवेशका लागि स्वागत स्वागत गर्न र यहाँ आउने आगन्तुकहरुलाई विश्राम गर्दै झरना अवलोकन गर्न सहजताका लागि बागमति प्रदेश सरकारको २५ लाख रुपैया लगानीमा स्वागत गेटका साथै गोल घरको निर्माण गरिएको थियो। सोहि स्वागत गेट र गोलघरको समुद्घाटनका लागि बागमति प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल आज पहिलो पटक इच्छाकामना आउनुभएको हो। 

2.jpg
समुद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णराज गुरुङ, गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष पञ्च बहादुर चेपाङ, वडा नं. ३ का गोवद्र्धन अधिकारी, वडा नं. ५ का मोदराज सिलवाल, नेकपा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो।

8.jpg
कार्यक्रमको सभापतित्व इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य स्थानीय बुद्धिजीवी एवं शिक्षक दान बहादुर गुरुङले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन भने लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले गर्नुभएको थियो। 

9.jpg

7.jpg

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:५४:२५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology