काठमाण्डौ, १२ मंसिर । देशभरका विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ। धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले सीआईएनलाई जानकारी दिनुभयो। हालसम्म करिव ६० जिल्लाबाट मात्र विवरण प्राप्त भएको र त्यसमा २१ जिल्लाका विभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको उहाँले बताउनुभयो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन्। लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ। प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई–दुई जिल्लाका दुईरदुई स्थानीय तहमा दुईरदुई वडाध्यक्षको पद खाली छ।
संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो।