देवघाट, १५ फागुन । तनहुँको देवघाट गाउँपालिका वडा नं. ३ को वडाअध्यक्ष कृतिमान आले भिरमा लडेको अवस्थामा मृत फेला परेको छ। विगत ४ दिनेदेखि हराईरहेका वडाध्यक्ष आले आज आइतबार घर भन्दा माथी गोन्द्राङ्ग पाखा भन्ने भिरमा अड्किएको अवस्थामा मृत फेला परेको हो।
वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार बिहिवार बेलुका ५ः३० बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेको थियोे । पार्टीको कामले म दमौली जानू छ, भरे आउदैंन होला भनेर बिहान हिंडेकोले त्यै दिन बेलुका खोजी नभएको पारिवारिक स्रोतले बताए । शुक्रबार देखि खोजी कार्य सुरु गरेको कतै फेला नपरेको, त्यै वडाका कार्यपालिका सदस्य यममाया गुरुङले जानकारी दिए ।
३ दिन देखीको खोजीको क्रममा वडाअध्यक्षको शब आइतबार दिउँसो १२ः०० तिर गाउँलेहरुले फेला परेका हुन। गाउँलेहरुले अध्यक्ष आलेको शब करिब २०० मिटर भन्दा तल भिरमा निकालेका थिए । घटना स्थलको सर्जिमिन मुचुल्का पछि पोस्टमार्टमको लागि दमौली लैजाने कुरा साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए।
यसैबिच वडाध्यक्ष आलेको निधनमा भोली देवघाट गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द हुने भएको छ। गाउँपालिकाले आज एक शोक वक्तव्य जारी गर्दै भोली गाउँपालिकाभर शोक विदा दिने जानकारी दिएको छ।
