Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तह निर्वाचन : उमेदवार बन्न पेस्की असुलउपर र बेरूजु फछ्र्योट अनिवार्य

स्थानीय तह निर्वाचन : उमेदवार बन्न पेस्की असुलउपर र बेरूजु फछ्र्योट अनिवार्य

रासस

४, चैत्र २०७८
स्थानीय तह निर्वाचन : उमेदवार बन्न पेस्की असुलउपर र बेरूजु फछ्र्योट अनिवार्य
images

काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उमेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरूजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उमेदवार दिने उमेदवारको असुलउपर गर्नुपर्ने भए सो पनि फछ्र्योट भएको हुनुपर्ने बताए ।

images
images

‘आसन्न स्थानीय तह निर्वाचनका लागि उमेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरूजु भएको भए फछ्र्योट भएको हुनुपर्छ’, उनले भने, ‘असुलउपर गर्नुपर्ने गरी किटानीका साथ उल्लेख गरेको बेरूजु छ भने त्यो पनि फछ्र्योट हुनुपर्छ ।’ स्थानीय तहका बेरूजु भए पनि उमेदवार हुने व्यक्तिको पेस्की बेरूजु र असुलउपर हुनुपर्ने बेरूजु फछ्र्योट भएको हुनुपर्ने उनको भनाइ छ ।

आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २०७८ बिहीबार राजपत्रमा प्रकाशित भएको जानकारी दिँदै प्रवक्ता शर्माले आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुने बताए । आचारसंहिता पालनाको अनुगमनका लागि विभिन्न संयन्त्र बनाइएको उल्लेख गर्दै उनले आचारसंहिताको उल्लङ्घन गर्ने उमेदवारलाई निर्वाचन ऐनअनुसार कारबाही हुने बताए ।

‘उमेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आयोगले निर्देशन दिन सक्छ, आयोगको निर्देशन पालना नगरे रू एक लाखसम्म जरिवाना हुनसक्छ’, प्रवक्ता शर्माले भने, ‘आचारसंहिता उल्लङ्घनका कारण स्वच्छ, भयरहित र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाधा पुग्ने भएमा आयोगले सम्बन्धित उमेदवारको उमेदवारी रद्द गर्न सक्छ ।’
निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग आचारसंहिताको पालना गराउन पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री छपाइका लागि बोलपत्र प्रकाशन गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति रू २० लाखको सामूहिक दुर्घटना बिमा गर्न राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गरिएको जनाएको छ ।

आयोगले दर्ता भएका राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दललाई निर्वाचनमा भाग लिने प्रयोजनका लागि यही चैत ६ गतेभित्र जिल्लास्तरको संगठन संरचनाको विवरण पेश गर्न आग्रह गरेको छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०८:३७:३५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology