आँबुखैरेनी, १३ चैत । स्थानीय तहको नयाँ निर्वाचन २०७९ आउन अब करिब डेढ महिना जति बाँकी छ। सरकारले २०७९ साल वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोकेको छ।
निर्वाचनको मिति नजिक आएसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ। यतिबेला गाउँघरमा कसले टिकट पाउँछ अनि कसले जित्छ भन्ने आकलन सँगसगै दलहरुले टोलटोलमा चुनावी अभियान सुरु गर्न थालिसकेको छ।
गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमाले बिच नै मुख्य प्रधिस्पर्धा भएको भए पनि नेपाली काँग्रेसले अध्यक्ष उपाध्यक्ष सहित ६ वटा मध्य ५ वटा वडा जितेको थियो। त्यसमध्य १ वटा वडामा नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रले सिंगो गाउँपालिका भरी १ जना मात्र वडा सदस्यमा जितेका थिए।
उक्त निर्वाचनमा ३४७ मतको फराकिलो मतान्तरले नेपाली काँग्रेसका उम्मेद्वार गिर बहादर थापाले गाउँपालिका अध्यक्षमा जित हासिल गरेका थिए। उनले २५८९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार सन्त बहादुर केसीले २२४२ मत ल्याएका थिए। यता माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेद्वार रहेका प्रेम गुरुङले १५८४ मत ल्याएका थिए। गाउँपालिका अध्यक्षकै अर्का उम्मेद्वार राष्ट्रिय जनमुक्ति पार्टीका खेम बहादुर गुरुङले भने जम्मा १७९ मत प्राप्त गरे।
यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेद्वार पुष्पादेवी श्रेष्ठले २२९७ मत ल्याई जितेका थिए। उनले नेकपा एमालेका उम्मेद्वार मिना अधिकारीलाई १३२ मतले पराजित गरेको थियो । अधिकारीले जम्मा २१६५ ल्याएकी थिइन्।
गाउँपालिका अध्यक्षमा ४ जना प्रतिस्पर्धी रहेकोमा उपाध्यक्षमा ५ जनाले निर्वाचन लडेको थियो जसमा माओवादी केन्द्रका उम्मेद्वार रजनी चुमानले १४६९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार मनोजकुमार श्रेष्ठले ३०६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार सपना तामाङले १८५ मत ल्याएका थिए।
यसैगरी वडाहरुमा ५ वटा वडामा वडामा नेपाली काँग्रेसका उम्मेद्वारले र १ वटा वडामा नेकपा एमाले्रका उम्मेद्वारले जित हासिल गरेको थियो।
वडा नं. १ मा ४ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार किशन थापाले ५५७ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ नेकपा माओवादी केन्द्रका उम्मेद्वार द्वारिका श्रेष्ठले ५२१ मत, नेकपा एमालेका उम्मेद्वार लिला बहादुर खनाल क्षेत्रीले १७४ मत र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार शिवराम रानाले ९६ मत प्राप्त गरेका थिए।
यस वडामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार १ जना वडा सदस्यमा निर्वाचित भएका थिए। सिंगो गाउँपालिकामा माओवादी केन्द्रको मियो जोगाउने काम उनले गरेका थिए।
वडा नं. २ मा ५ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार कटक बहादुर थापाले ५५७ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वार बुद्धि बहादुर पाण्डेले ३९५ मत, नेकपा एमालेका उम्मेद्वार बेल बहादुर गुरुङले ३८० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अनिता श्रेष्ठले ५० मत र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार कमल बहादुर मगरले २९ मत प्राप्त गरेका थिए।
यस वडामा वडाध्यक्ष नेपाली काँग्रेसले जिते पनि वडासदस्यमा भने सबै ४ जना नै नेकपा एमालेको उम्मेद्वारले जितेका थिए। यद्यपी निर्वाचित भएको करिब दुई वर्षपछि १ जना जनप्रतिनिधिले एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको थियो।
वडा नं. ३ मा ६ जना प्रतिस्पर्धी भएकोमा नेकपा एमालेका उम्मेद्वार पूर्ण बहादुर आलेले ६६७ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार दिपक कुमार श्रेष्ठले ५७७ मत, नेकपा माओवादी केन्द्रका उम्मेद्वार गणेश थापाले ३०२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार इम बहादुर के.सी.ले २१५ मत, स्वतन्त्र उम्मेद्वार बालकृष्ण मिश्रले ७४ मत र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार चिजा थापाले १८ मत प्राप्त गरेका थिए। यहि १ वटा वडाले नेकपा एमालेको साख जोगाएको थियो।
वडा नं. ४ मा ५ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार नेत्र गुरुङले सर्वाधिक ३३३ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार भिम बहादुर आलले १७७ मत, नेकपा माओवादी केन्द्रका नेत्र बहादुर मगरले १०८ मत, नयाँ शक्ति पार्टीका उम्मेद्वार सन्जित गुरुङले १९ मत र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार मौसम भुजेलले ७ मत प्राप्त गरेका थिए।
यस वडामा झरेको मत मध्य नेपाली काँग्रेसका उम्मेद्वारले झण्डै दोब्बर–तेब्बर मत प्राप्त गरेका थिए। यसरी हेर्दा यो वडामा नेपाली काँग्रेस बाहेक अन्य दल अत्यन्तै कमजोर देखिएको थियो।
वडा नं. ५ मा ३ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार पञ्च बहादुर गुरुङले ४०२ मत प्राप्त गरी जित हासिल गरेका थिए। जहाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार भक्त बहादुर गुरुङले ३०६ मत र नेकपा माओवादी केन्द्रका उम्मेद्वार खड्ग बहादुर गुरुङले जम्मा ३४ मत प्राप्त गरेका थिए।
वडा नं. ६ मा ५ जना प्रतिस्पर्धी मध्य नेपाली काँग्रेसका उम्मेद्वार सुनाराम गुरुङले २६४ मत ल्याई मात्र १ भोटको अन्तले जित हासिल गरेका थिए। जहाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार जुन बहादुर गुरुङले २६३ मत ल्याएका थिए। सो वडामा नेकपा माओवादी केन्द्रका तुल बहादुर गुरुङले १८८ मत, संघिय समाजवादी फोरमका उम्मेद्वार चन्द्रप्रकाश गुरुङले ६४ मत र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार आईतसिंह गुरुङले १८ मत प्राप्त गरेका थिए।
यस वडामा पनि १ मतको झिनो अन्तरले वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार सुनाराम गुरुङले जित हासेल गरे पनि वडासदस्यमा सबै नेकपा एमालेका उम्मेद्वारहरुले जित हासिल गरेका थिए।
यसरी २०७४ सालको स्थानीय तहलाई सरसर्ती नियाल्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा भएको देखिन्छ भने तेस्रो स्थानमा माओवादी केन्द्र देखिन्छ। राष्ट्रिय जनमुक्ति पार्टीको सबै उम्मेद्वारको जमानत जफत भएको देखिन्छ भने अन्य दलका अधिकांश उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार कसैले पनि जमानत जोगाउन सकेको देखिदैन ।
यसैगरी वडाहरुमा १ र २ वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बलियो देखिएको थियो भने नेकपा एमाले कमजोर देखिएको थियो।
वडा नं. ३ मा भने नेकपा एमाले र नेपाली काँग्रेस बिच प्रतिस्पर्धा देखिएको थियो भने नेकपा माओवादी केन्द्र कमजोर देखिएको थियो ।
बाँकी वडाहरु ४, ५ र ६ मा नेकपा एमाले र नेपाली काँग्रेस बिच नै प्रतिस्पर्धा भएको देखिएको थियो भने नेकपा माओवादी केन्द्र अत्यन्तै कमजोर देखिएको थियो।