Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा: साउनयता पुनर्निर्माण भए ४६ हजार घर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा: साउनयता पुनर्निर्माण भए ४६ हजार घर

सिआईएन

२०, मंसिर २०७७
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा: साउनयता पुनर्निर्माण भए ४६ हजार घर

काठमाण्डौ, २० मंसिर । आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामहरुलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता प्राधिकरणले व्यक्त गरेको छ। 
चार महिनाको अवधिमा ६ हजार ६ सय पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार ११४ ले तेस्रो किस्ता लिएका छन्। यसै अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन् जसमध्ये ४५० ले पहिलो किस्ता बराबर ५० हजार रुपैयाँ बुझेका छन्। यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् र पहिले नै लाभग्राही कायम भएका समेत गरी १ हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन्। यसै अवधिमा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन भएको छ भने धरहरा पुनर्निर्माणमा निरन्तर काम भई १९ तलासम्मको ढलान कार्य सम्पन्न भएको छ। 
यस अवधिमा समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको पनि समीक्षा बैठकमा जानकारी दिइएको छ। समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि टिप्पणी गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले सक्रिय रुपमा काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गर्दै सम्पूर्ण प्रयास केन्द्रित गरेर तोकिएका लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयोे। ज्ञवालीले निजी आवास अनुदानका किस्ताहरु लिने अन्तिम समयसीमा किटान भएकोले घर बनाउन बाँकी रहेका लाभग्राहीसम्म पुगी घर निर्माण सुरु गर्नका लागि प्रोत्साहित गर्न पनि निर्देशन दिनुभयो।
त्यस्तै, चालु आर्थिक वर्षका चार महिनाको अवधिमा भूमिहीन लाभग्राहीको व्यवस्थापनमा काम भइ १ हजार ४४८ जनालाई हाल बसिरहेको ठाउँमा घर पुनर्निर्माण गर्न स्वीकृति दिइएको छ भने ७७ जनालाई जग्गा खरिद गर्न दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।प्रथम चौमासिकमा ग्रामीण सडक पुनर्निर्माणमा पनि काम भएको छ। यस अवधिमा २० वटा स्थानीय स्तरका सडकको ३०५ किलोमिटर सडकमा विभिन्न चरणका काम भइरहेका छन्। यस महिनाको अवधिमा पुनरावेदन गर्ने लाभग्राहीको संख्या उल्लेखनीय बढेको छ। १८ हजार २२१ व्यक्तिहरुले पुनरावेदन गरेका पत्रहरु पुनरावेदन समितिमा दर्ताका लागि संकलन भएका छन्। 
यसबीचमा १ हजार ३६८ वटा निवेदनहरुको फैसला भएको छ। मंसिर १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको छ। पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्ने र बाँकी ५ महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायतका कामहरु हुने जनाइएको छ।

images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०९:१७:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology