भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन्। आन्दोलन अन्तरगत किसानहरुले आगामी डिसेम्बर ८ अर्थात् मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन्। उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज दशौं दिन हो।
केन्द्र सरकार र किसानबीच आज शनिबार फेरि वार्ता हुँदैछ। वार्ताको अघिल्लो दिन हिजो उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन। अब दिल्ली प्रवेश गर्ने थप सडकहरु समेत बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन्। किसानको आन्दोलनप्रति समर्थन पनि बढ्दै गएको छ।
पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन जनाउनुभएको छ। उहाँले केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुको साथमा रहेको बताउनुभएको हो।
यस्तै, लेखकहरुसहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन्। पछिल्ला ९ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणा सहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन गरिरहेका छन्। किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्। कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ।